यसरी पो कमाउनु !
ताप्लेजुङ । जीवन निर्वाह गर्न कमाइ गर्ने अनेक तरिका छन् । वैध पनि अवैध पनि । अवैध कमाइको कुरै नगरौँ, यो आपराधिक मनोवृत्ति भएकाहरुले गर्ने कुरा हो । वैध रुपमा गरिने कमाइ पनि फरक फरक हुन्छन् ।
नाफा पाउने उद्देश्यले गरिने काम, व्यवसाय अनेक छन् । तर सेवा पनि हुने अनि अलेली कमाइ पनि हुने– यो तरिका चाहिँ उदाहरणीय हुन्छ । पाँचथरका केही युवाले यस्तो उदाहरणीय काम गरेका छन् ।
असोज १२ गतेदेखि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का प्रकाश तामाङको व्यस्तता निकै बढेको छ । अचेल उनी हेवाखोलाको वारिपारि गर्ने यात्रुलाई सहयोग गरिरहेका छन् । कहिले बुढापाकालाई ढाडमा बोकेर वारिपारि गराएका छन् भने कहिले सामान ओसारिदिएका छन् ।
यसो गर्दा उनले यति पैसा दिनुस् भन्दैनन् । उनले सहयोग गरेकाहरुले जति दिन्छन् त्यति नै हात थाप्छन् । आफूले कमाई मात्रै गर्ने उद्देश्यले यस्तो नगरेको प्रकाशको भनाइ छ ।
‘सहयोगको मुख्य उद्देश्य हो’ उनी भन्छन्, ‘अप्ठ्यारो बेलामा सहयोग गर्न पाउनु खुसीको कुरा हो, उहाँहरुको इच्छाले जति दिनुहुन्छ त्यति मात्रै हो लिने । दसैँको मुखमा दुईचार पैसा कमाइ भए पुगिहाल्यो नि ।’
हर्कबहादुर थापाको केही दिनयता यस्तै छ दैनिकी । बिहानै नाम्लो, डोरी र डोको बोकेर निस्किन्छन् । दिनभरि प्रकाशले जस्तै काम गरी साँझ घर फर्कन्छन् । यी दुवैजनाले थुप्रै यात्रुका सामान बोकेर खोला तारिदिएका छन् ।
हिँड्न नसक्ने अवस्थाका बुढापाका र बिरामीलाई बोक्नेदेखि उनीहरुका सरसामान बोकेर गन्तव्यमा पुर्याइदिन्छन् । यसो गर्दा उनीहरुले दिनमा ८ पटकसम्म ओहोरदोहोर गरेका छन् । यात्रुले स्वेच्छाले दिएको रकम लिने उनले चार हजारसम्म कमाई गरेका छन् ।
गत शनिबार बिहानको बाढीले खोलाको पुल बगाएपछि यात्रुलाई आउजाउ कठिन भएको छ । बाटो क्षतिग्रस्त हुँदा झनै सकस छ । यस्तोमा सहयोगी पाउँदा यात्रुहरु पनि खुसी छन् ।
हेंवाखोलाको बाढीले पुल बगाएपछि र ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि मेची राजमार्ग अवरुद्ध छ । कञ्चनजंघा क्षेत्रको भ्रमणमा हिँडेका बिदेशी, पाथीभरा दर्शनका लागि निस्किएका तीर्थयात्रीदेखि घर फर्कने र अन्य कामले हिँडेकाहरु समस्यामा परिरहेका छन् ।
फिदिम नगरपालिका पाँचथरका प्रमुख मित्रप्रसाद काफ्ले बिपतमा गाउँलेले राम्रो सहयोग पुर्याएको बताउँछन् । अप्ठ्यारोमा सहयोग गरिरहेकाले कसैबाट कुनै गुनासो नआएको उनको भनाइ छ ।
हेवाखोलाको पुल तरेर ताप्लेजुङ, पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका बासिन्दा आउजाउ गर्छन् । सवारी साधनबाट हेवाखोला छेउसम्म पुगिन्छ । त्यहाँबाट एक–डेढ घण्टा हिँडेर पाँचथरको थापाटार निस्कनु पर्छ । थापाटारबाट यात्रुहरु गाडी चढेर गन्तब्यतर्फ लाग्ने गरेका छन् ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार सवारी साधनन नै चल्ने गरी पुल बनाउन एक साता लाग्ने अवस्था छ । खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउने वा ह्युमपाइप राख्ने भन्ने निर्णय हुने उनले बताए ।
