नेपाल क्यानाडासँग ४ विकेटले पराजित
काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल घरेलु टोली क्यानाडासँग ४ विकेटले पराजित भएको छ । १४० रनको लक्ष्य क्यानाडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे । दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए ।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे ।
नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् । कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४९४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।
क्यानाडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानाडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले यो सिरिजको अन्तिम खेल बुधबार राति ओमानसँग खेल्नेछ ।
