सुकुना क्याम्पसमा १८३ जना विद्यार्थीलाई छात्रवृत्ति

विराटचोक । मोरङको सुन्दरहरैँचास्थित प्रतिष्ठित शैक्षिक केन्द्र सुकुना बहुमुखी क्याम्पसले विभन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्नसंस्था र निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १८३ जना जेहेन्दार विद्याथीलाई १८ लाख ८१ हजार ९९८ रकम बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा क्याम्पस सभाकक्षमा आयोजित कार्यक्रममा अक्षयकोष दाताहरू, छात्रवृत्ति दातां, संस्था र सहकारी बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्याथीहरू सहभागी थिए ।

संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

मन्तव्यका क्रममा आगामी मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको जानकारी पनि अधिकारी दिएका थिए ।

प्रमुख अतिथि गुरुङ र अध्यक्ष अधिकारीले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने संख्या वृद्धि गर्दै जाने र यसबाट क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने धारणा राखेका थिए ।

सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा छात्रवृत्ति व्यवस्थापन समितिका सदस्यहरू क्रमशः उपप्राध्यापकहरू क्रमशः गेहेन्द्र खनाल, टीकाप्रसाद उपाध्याय, खगेन्द्रराज दाहाल, रमेश खतिवडा र लेखाफाँट प्रमुख युवराज सुवेदीले सहजीकरण गरेका थिए ।

यसका अतिरिक्त यस क्याम्पसका विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीमध्ये ६६ जनाले विश्वविद्यालय अनुदान आयोग नेपालबाट जनही वार्षिक १५ हजारका दरले जम्मा ९ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति पाइरहेका छन् ।

यस्तै, रुक्माङ्गत कटवाल ट्रष्टबाट एक जनाले वार्षिक २५ हजार २०० र अर्का एक जनाले वार्षिक ३५ हजार गरी ६० हजार २०० रुपैयाँको छात्रवृत्ति पाइरहेको जनाइएको छ ।

पहिलो चरणमा २५१ जना विद्यार्थीले २९ लाख ३२ हजार १९८ रुपैयाँ छात्रवृत्ति रकम प्राप्त गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल जानकारी दिए । दोस्रो चरणमा स्नातक तेस्रो वर्षको अन्तिम परीक्षाको प्राप्ताङ्कका आधारमा थप विद्यार्थीले छात्रवृत्ति पाउने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *