जोखिम बढेपछि कोशी ब्यारेजबाट मानिस र सवारी साधन आवागमनमा रोक
विराटनगर । सप्तकोशीमा पानीको बहाब बढ्ने क्रमसँगै कोशी ब्यारेज भएर आउजाउ गर्न रोक लगाइएको छ । पानीको बहाव निरन्तर तीव्र रुपमा बढिरहेकाले मानिस तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
पछिल्लो तथ्यांकअनुसार कोशी ब्यारेज भएर ५ लाख ३१ हजार क्यूसेक पानीको बहाव छ । पानीलाई निकास दिन ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयलका अनुसार कोशी ब्यारेजमा पानीको सतह बढेर खतराको संकेत समेत पार गरेको हुनाले मानिस र सवारी साधन सञ्चालनमा तत्कालका लागि रोक लगाइएको हो ।
शनिबार ४ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि आवतजावत बन्द गरिएको सुनसरी जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले कोशी ब्यारेज क्षेत्रको अनुगमन गरेको छ ।
सुनरीको बराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् । बिहानैदेखि उनीहरुको उद्धारको प्रयास गरिएपनि अहिलेसम्म नसकिएको प्रहरीले जनाएको छ । बराहक्षेत्र ६ ठाकुरीबारीस्थित कोशिको बिच टाप्पुमा भैंसी पालन गरी बस्ने गरेका उनीहरु त्यहीँ अलपत्र परेका हुन् ।
उनीहरुको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
