नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको नाम्लिङथाम रंगशालामा घरेलु टिमलाई २-१ ले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
अब नेपालले असोज १२ गते हुने पहिलो सेमिफाइनलमा फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ । खेलको ४२ औं मिनेटमा ब्याकपासलाई भुटानका गोलकिपर पेम्बा नोबू भोटेले नियन्त्रणमा लिन नसक्दा यान्तेन यारचेनले गोल लिएर पोस्टमा प्रहार गरेका थिए ।
खेलको ५५ औं मिनेटमा नेपालले फ्रि किकको अवसर पायो । कृष्णबहादुर आलेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ८४ औं मिनेटमा पेम्बाले गोलपोस्ट अघिबाट चलाएको बललाई नियन्त्रणमा लिएर सुजन डंगोलले गोल गरे ।
अन्तिममा भुटानका दुई शक्तिशाली प्रभाव रोक्दै नेपालले सेमिफाइनल निश्चित गर्यो। नेपाल समूह बी मा दोस्रो भएर सेमिफाइनल पुगेको हो ।
समूहको शीर्ष स्थानको पाकिस्तानले असोज १२ गते नै दोस्रो सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ। समूह ए मा भारत पहिलो र बंगलादेश दोस्रो भएर सेमिफाइनलमा पुगेका हुन् ।
