श्रीमतीको हत्या गरी आत्महत्या
इलाम । पूर्वोत्तर इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका–१, भित्ते भन्ने ठाउँ निवासी ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया श्रीमती फूलकुमारी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको र त्यसपछि घरभन्दा केही पर रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उजबहादुरको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी) मानबहादुर राईका अनुसार फूलकुमारीको शव घरबाट करिब ७० मिटर तल बाटोमुनि भेटिएको छ । उक्त स्थान नजिकै निबारोको रुखमा झुण्डिएको अवस्थामा उजबहादुर फेला परेका हुन् ।
घरभित्रै हतियार प्रहार भएको संकेत पाइएको भन्दै उनले घरभित्र र बाहिरतिर पनि रगतको छिटा देखिएको जानकारी दिए । मंगलबार बिहान करिब ७ बजे घटनाबारे जानकारी पाएपछि आफू सहितको टोली घटनास्थल पुगेको डीएसपी राईले सरल पत्रिकालाई जानकारी दिए ।
‘घटना हेर्दा हिजो राति भएको जस्तो देखिन्छ’ उनले भने, ‘घटनास्थलमा धारिलो हतियार सिक्कल फेला परेको छ, हामी विस्तृत अनुसन्धान गर्दैछौँ ।’
अलि एकान्त जस्तो स्थानमा घर भएका राई दम्पतीका जेठा छोरा रोजगारीका लागि विदेशमा रहेको साथै कान्छा छोरा इलामको फिक्कलमा बस्ने गरेको प्रहरीले जनाएको छ ।
