तीर्थयात्री बढेसँगै पाथीभरामा चहलपहल

ताप्लेजुङ । मध्य वर्षा सकिएर मौसम खुलेसँगै प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ) आउने तीर्थयात्रीको संख्या बढ्न थालेको छ । तीर्थयात्री आउने क्रमसँगै भेटी सङ्कलन पनि बढेको छ ।

दुई महिनाको अवधिमा यहाँ १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । साउन र भदौमा भक्तजनले चढाएको भेटी रकम १८ लाख २६ हजार ५५५ रहेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा ६ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार ५५५ भेटी सङ्कलन भएको हो । समितिका अनुसार साउनमा १ हजार ९५५ जना तीर्थयात्री आएका थिए । भदौमा भने ९ हजार ९३९ जना आएको तथ्याङ्क छ ।

पाथीभरा मन्दिरमा दसैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रम आयोजना हुन्छ । त्यस बेला तीर्थयात्रीको संख्या झनै बढ्ने समितिले जनाएको छ । पाथीभरा देवीलाई शक्तिस्वरूप देवीका रूपमा पुजिन्छ ।

पाथीभराबाट वरपरका हिमशृङ्खला, पहाडी क्षेत्रहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । तीर्थयात्राका साथै प्राकृतिक सुन्दरतामा रमाउन आउनेहरुको सङ्ख्या निकै हुने गरेको स्थानीय दुर्गा खतिवडाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *