अन्तर विद्यालय पौडी प्रतियोगितामा एभरेष्टले जित्यो १७ स्वर्ण
विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर–५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण पदक जितेको छ ।
एभरेष्टले प्रतियोगिताका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो । विराटनगरकै लिलिपुट र श्रीश्री रबिशंकर स्कुलले ४–४ स्वर्ण पदक जित्दा बिकेभीएम र दिल्ली पब्लिक स्कुल (डीपीएस) स्कुलले २–२ वटा स्वर्ण जितेका छन् ।

यस्तै, सेन्ट म्यारी, सेन्ट जोसेफ, ह्याप्पी किड्स र सिद्धार्थ स्कुलले १–१ स्वर्ण जितेको ट्रेनिङ सेन्टरका सचिव सागर भट्टराईले जानकारी दिए । उनका अनुसार २५, ५०, १००, २००, ४०० र १५०० मिटरका विभिन्न स्पर्धाहरु सम्पन्न भएका छन् ।
एभरेष्ट स्कुलको स्वीमिङ पुलमा भएको प्रतियोगितामा विराटनगरका १० विद्यालयले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
