अहिलेकै संविधानको जगबाट देश समृद्ध बनाउन सकिन्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यही संविधानको जगबाट देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरेका छन् ।

वर्तमान संविधान निर्माण प्रक्रिया आज भन्दा सात दशक अगाडि सुरु भएको भन्दै उनले जनप्रतिनिधिद्वारा देशको संविधान निर्माण गर्ने परिकल्पना सर्वप्रथम नेपाली कांग्रेसको नेतृत्वमा यस पार्टीका मूर्धन्य नेता एवं महामानव विपी कोइरालाबाट भएको स्मरण गरे ।

‘अनेकन आरोह अवरोह खेप्दै लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने क्रममा रतीभर पनि विचलित नभई सङ्घर्ष र बलिदानलाई स्विकारेर कांग्रेस कार्यकर्ता, नेता, समर्थक, शुभेच्छुक र आम नेपालीले इतिहासको विभिन्न कालखण्डमा गरेको त्याग अतुलनीय छ । अग्रज पुस्ताको त्यो गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहनेछ’, सन्देशमा भनिएको छ ।

राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको उनले बताएका छन् ।  आज दक्षिण एसियामा मात्र होइन विश्वमै नेपालको संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेको भनी प्रशंसित रहेको उनले उल्लेख गरेका छन् ।

‘नागरिकको सम्प्रभुतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिक रुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा होइन । त्यस्तै महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तल देखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसङ्ख्या भएको यो समूह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको छ’ उनले भनेका छन् ‘संविधान गतिशील दस्ताबेज हो । जसरी समाज गतिशील हुन्छ र समाजमा उठ्ने मुद्दाहरू पनि समय सापेक्ष फरकफरक हुन्छन् । यसरी गतिशील समाजका मुद्दाहरूलाई संविधानले सम्बोधन गर्न जरुरी हुन्छ । आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने बहस यही कारणले छलफलमा छ ।’

उनले भने ‘नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा बसेका नेताहरूले खास ध्यान पुर्‍याएनन् । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागू भए पनि संस्कारजन्य रुपमा हामीमा एकात्मक राज्यको सोच र सिंहदरबार नै सबै थोक हो भन्ने मानसिकताबाट हामी मुक्त हुन सकेनौँ । यही कारण हो आज संविधानमाथि दबाब छ, यही कारण आज सङ्घीय संरचनामाथि दबाब छ । ‘  

राज्यको नयाँ संरचना निर्माण पछि उत्पन्न कानुनी जटिलताहरूलाई सम्बोधन गर्न ऐन कानुनहरू जुन तीव्रताका साथ निर्माण गर्नुपर्थ्यो हामी त्यसमा दलहरू चुकेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *