विश्वकप लिग-२ : क्यानाडासँग नेपाल पराजित
काठमाडौँ । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानाडासँग १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानाडासँग यो पहिलो हार हो ।
२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर कुशल भुर्तेल १, आसिफ शेख २० रनमा आउट भए ।
यसैगरी, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानाडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २–२ विकेट लिए भने सादविन जाफरले १ विकेट लिए ।
त्यसअघि किङ सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो ।
नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग–२ मा ५ खेलमा २ अंकका साथ सातौँ स्थानमा छ । क्यानाडा ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।
