पुरस्कार लुँड्याउनेहरूका नाममा…

हिजोआज पुरस्कार पाउने पुरस्कृत ‘अस्रष्टा’ भन्दा पनि पुरस्कार प्रसिद्ध छ । पुरस्कारकै जय जय छ । यसैकारण कतिपय साहित्यकारहरूले पुरस्कार लुँड्याउनका लागि ज्यान दिने गरेको कुरा कतै लुकेको छैन ।

लुँड्याउनुको शाब्दिक अर्थ हुन्छ (लुँड्याउनु = लुँड यि+या+उनु, क्रि.) लुँड़ी पार्नु, गुजुल्ट्याउनु, बटार्नु, बस्तुले सागपात जथाभावीसँग खानु, सागपात आदि मनपरी टिप्नु वा जथाभावी बेड़ाउनु, भेटिए जति सबै लैजानु, पाए जति सबै खानु, जुवा आदिमा सबैको धन जित्नु, सोहोर्नु, धनीले वा रक्षकले पत्तै नपाई सबै उडाउनु ज्यान दिने गरेको कुरा कतै लुकेको छैन ।

सबै पुरस्कार लुँड्याउने दाउमै देखिन्छन् । पुरस्कार पाउने कतिको योग्य छ भन्ने कुरा जान्दाजान्दै पनि जसरी होस् पुरस्कार मैले लुँड्याउनै पर्छ भन्ने ध्याउन्नमा हुनेको सङ्ख्या कम्ति छैन । पहिले पहिले पुरस्कारलाई सम्मानको दृष्टिले हेरिन्थ्यो तर अचेल यस्ता साहित्यिक पुरस्कारलाई वेश्याले लाउने सिन्दूर ठान्नेहरू पनि देखिँदो छ । किनभने, अचेल ऐरै–गैरे–नत्थुखैरेको भाग्यमा जुरेको देखिन्छ यो पुरस्कार ।

हुन पनि हो यो पुरस्कार भन्नेको कुनै आमा–बाबा छैनन् । ठीक बतासे नानीजस्तो । जेसुकै भन्नोस्….पुरस्कार लुँड्याउनेहरूको सूचीमा तपाईं र मेरो नाम पनि परेको छैन भन्न सकिन्न । आखिर हामी पनि एउटै पोखरीका ता माछा हौँ । तर पुरस्कार लुँड्याउनु त्यति सजिलो छैन ।

पुरस्कार लुँड्याउनु हो भने सबैभन्दा पहिले पुरस्कारको खाता खोलिदिने दाता वा पुरस्कार विधातालाई खुसी पार्नु पर्यो, पुरस्कार विधाता महोदयको झोला तुइँतुइँ बोकिदिनुपर्यो । पोका लिएर दाताको घर पुग्नु पर्यो र मात्रै पुरस्कार विधाताको मनको ढोका खोलिन्छ । बस् पुरस्कार लुँड्याउने गेट पास हात पर्यो भनेर ढुक्कैले बस्दा हुन्छ । गतिलै पुरस्कार लुँड्याउनु हो भने पुरस्कार विधातालाई रिझाउन घर–आँगनमै वितरण गरिने चानचुने, जदौरी सम्मान पुरस्कार प्रदान गरिए यस्ता ठूल्ठूला पुरस्कार ता क्वाप्पै क्वाप ल्याउन सकिन्छ । बस यता गुरुजी खुस; उता पुरस्कार तिर्सनामा काकाकुली छटपटिनेहरूको ठूल्ठूला पुरस्कार लुँड्याउने गेट पास हातैमा ।

हिजोआज पुरस्कारले प्रतिभा वा पुरस्कार पाउने योग्यलाई पत्तै दिँदैन । पुरस्कार प्रदानकारी पुरस्कार विधातालाई रिझाउन सकियो भने पुरस्कार लुँडि़न्छ…लुँडिन्छ । यसमा शङ्का गर्ने ठाँवै छैन । पुरस्कार विधाता रिझियो कि पुरस्कार लुँडियो भनी ढुक्कैले बस्दा हुन्छ । कसले, कसरी, कुन प्रकारले, कुन ट्याक्टिक्स, साम–दाम–दण्ड–भेद चलाएर पुरस्कार लुँड्याउने काम गरिरहेका छन् त्यसको नालीबेली दुनियाँलाई थाह भइसकेको छ ।

अनि किसिम जालझेल, छक्कापञ्जा गरेर पुरस्कार लुँड्याउने पुरस्कार लुँडाहालाई पनि ‘मैले कुन जदौ–हजूरीले पुरस्कार लुँड्याएँ’ भन्ने कुराले चिमोटे पनि ऊ भिजेको बिरालोजस्तो भएर ‘म पुरस्कार लुँड़्याउने योग्यको छु कि’ भनी बुझ पचाई पचाई सद्दे पुरस्कृत स्रष्टा भइटोपल्नेहरू पनि नदेखिएको होइन । ठिक बकुलाजस्तो । बकुला माछा खान नदीमा उभिरहन्छ…माछा छेउमा पर्यो कि ख्वाप्ल्याक्क पार्छ…तर पानी जस्ताको त्यस्तै हुन्छ । बङ्ला भाषामा यसलाई भनिन्छ, ‘धोरी माछ नाछुई जोल’ अर्थात् पानी नछोई नै माछा समात्छु । जदौ–हजूरी गरेर, पोकोपन्तरो चढाएर वा पुरस्कार लुँड्याउनमा सिंहभाग ज्यान लाएर ट्याक्टिक्सवाल पुरस्कार विधाताको झोला बोकेर पुरस्कार लुँड़्याउनेहरूलाई मैले बकुला नाम राखेको छु ।

पुरस्कार लुँड्याउने लोभमा परेपछि रगत खान पल्केका नरभक्षी बाघजस्तो पुरस्कारभक्षी भएर पुरस्कारकै दाउमा राँटो लाइरहनेहरू पनि नदेखिएको होइन । उसलाई अरु कसैको वास्ता हुँदैन, चक्षुलज्जा, लाज–शरम सबै पचाइसकेका हुन्छन् । कति ता आफैले पैसा खर्च गरेर सम्मान थाप्नेहरू पनि नदेखिएको होइन । तर किसिम जालझेल, जदौ हजूरी गरेर पनि पुरस्कारजस्तो सम्माननीय कुरो लुँड्याउनु पनि सजिलो छैन ।

पुरस्कार लँड़्याउनुलाई के कतिको मालिस र पालिस गर्नुपर्छ त्यो तपाईंहरूलाई के थाहा ? तर यसमा मालिस र पालिस गर्ने, झोला बोक्ने पुरस्कार लुँड्याहाहरूलाई दोष दिनु पनि गलत हुन्छ । पुरस्कार लुँड़्याउनेको टाउकोमा पुरस्कारको भूत चढाउने ता खासमा पुरस्कार विधाताको पनि सोह्रै आना हात रहेको हुन्छ । यी पुरस्कार विधाताले मालिस गर्ने पालिस गर्ने र झोला बोकिदिने खोजिरहेका हुन्छन् । बस्…ठिक मालिस र पालिस पुग्यो कि ता झोला बोकिदिनेले आफ्नो गह्रौं भार हलुङ्गो पारÞ्यो भने मालिसे पालिसे र झोलेको भाग्यमा पुरस्कारविधाताले पुरस्कार रेखा कोरिदिने निश्चित भइहाल्छ । लण्ठैसाफ…कसैको रयाइँ न झ्याइँ । पुरस्कारविधाता खुसी….पुरस्कार मुठीमा…!

मलाई एकजना साहित्यकार भाइले एकपल्ट सोधेका थिए– ‘सर ! ठूल्ठूला साहित्यिक पुरस्कार प्राप्त गर्नुलाई के गर्नुपर्छ सर ? कस्तो खाले कृति निकाल्नुपर्छ सर !“

प्रश्न गर्ने यी साहित्यिक पुरस्कारभक्षी जनावर पनि पुरस्कार लुँड्याउने काकाकुली तिर्सनामा हरहरती तिर्खाएको देखेँ । मैले भनेँ, ‘भाइ ! अचेल पुरस्कार प्राप्त भनिँदैन…पुरस्कार लुँड्याउनु भनिन्छ । भाइले बारीमा रायोको साग लुँड्याएजस्तो । भाइजस्ता जल्दा–बल्दा भक्कुचूर स–साना लोकल साहित्यिक पुरस्कार लुँड्याइकेका साहित्यकारलाई किन चाहियो नि अब ठूल्ठूला साहित्यिक पुरस्कार ?’

टाउको कन्याउँदै शकुनीको भाषामा बोले ती चानचुने साहित्यिक पुरस्कारका धनी साहित्यकार– ‘होइन नि सर ! अब त्यो पुरस्कार भनेको ता त्यै हो नि सर ।’

मैले भनेँ, ‘राम्रो हो । कत्ति चानचुने पुरस्कारमात्रै लुँड्याइरहनु । ठूल्ठूला पुरस्कार लुँड्याउने भाइको आकांक्षालाई मेरो अग्रिम शुभकामना । देवकोटाले भनेजस्तो ‘उद्देश्य के लिनू उड़ी छुनु चन्द्र एक’ । हो हामीले चन्द्रमै ताक्नुपर्छ….।’

मलाई बोल्न नदिई फेरि सोधे– ‘होइन सर…कृति चैँ कस्तो खाले हुनुपर्छ ?’

यो प्रश्नले म एकक्षण स्तब्ध भएँ । तरै पनि सकी नसकी जवाफ दिएँ, “भाइ आँप खानुसित मतलब हो…कोयासित के को मतलब ? भाइ अचेल यस्ता ठूल्ठूला पुरस्कारको लागि कृति हेरिँदैन…उम्मेद्वारको मालिस पालिस र झोकाइ बोकाइको योगदान हेरिन्छ । यसकारण, कृति कस्तो निकाल्नु भन्दा पनि भाइले पुरस्कार विधातालाई मालिस र पालिस गर्नु सक्नुपर्छ ।’

भाइ प्याच्चै बोले, “आम्बो सर ! मालिस र पालिस पो गर्नुपर्छ पुरस्कार विधातालाई ? पालिस र मालिस गर्नु जान्दिनँ नि सर !’

मैले भनेँ, ‘सेलुनमा गएर सिक्नू ।’

उनको जिज्ञासा, ‘कुन सेलुन सर युनिसेक्स सेलुन ?’

प्याच्चै भनेँ, ‘सेक्स सेलुन ।’

आँखा ठूल्ठूला पारी फेरि प्रश्न, ‘पुरस्कार प्रापक हुनुलाई त्यस्तो कसरत गर्नुपर्छ सर ?’

मैले फेरि भनेँ, ‘यस्तोलाई पुरस्कार प्रापक भनिँदैन…पुरस्कार लुँड्याहा भन्छ । जाँड खानेलाई जँड्याहा, रक्सी खानेलाई रक्स्याहा, रम खानेलाई रम्याहा, ब्राण्डी खानेलाई ब्रण्ड्याहा, ह्विस्की खानेलाई ह्विस्किह्या भनेजस्तै पुरस्कार लुँड्याउनेलाई लुँड्याहा ।‘

फेरि जिज्ञासा, ‘वाह सर ! दामी विशेषण । अनि सर पुरस्कार विधाताको झोला बोक्नेलाई चाहिँ ?’

मेरो उत्तर, ‘कतिले झोले भन्छन् कतिले झोल्याहा । म चाहिँ ‘मापाझो’ भन्छु त्यस्ता पुरस्कार लुँड्याउन खोज्ने बकुलाहरूलाई ।

छक्क परेर फेरि प्रश्न, ‘ए रात्तै ! यो ‘मापाझो’ भन्या चैं को हो’नि सर ?’

बुझाउने प्रयास मेरो, ‘नेपाल प्रहरीले ‘मापसे’ (मादक पदार्थ सेवन) अनि ‘जापसे’ (जाँड़–रक्सी पदार्थ सेवन) भन्याजस्तै ‘मापोझो’ भन्या मालिसे पालिसे झोले ।’

हा….हा…हा… हाँसेर तीन ठुन्का परे ती पुरस्कार लुँड्याउन काकाकुली छटपटिने बकुले साहित्यकार भाइ । मेलै नजानेको जस्तो पाराले सोधेँ, ‘भाइलाई पुरस्कार लुँड्याउने इच्छा होला हई !’

गम्भीर भावमा बोले, ‘हेरौं सर ! भगवानको जो कृपा…।’

म झनक्क भएँ । प्याच्चै भनेँ, ‘के को भगवानको कृपा ? पुरस्कार विधाताको कृपा बर्सियो भने ब्रह्मा–विष्णु–महेश समेत फेल ।’

आत्तिएर बोले पुरस्कार लुँड्याउन काकाकुली छटपटिएका साहित्यकार भाइ, ‘कसरी ब्रह्मा–विष्णु–महेश फेल सर ?’

श्वास नबिसाई म बोलेँ, ‘डाड़ुपन्यू पुरस्कार विधाताकै हातमा भएपछि….।’

मलाई बोल्न नदिई ‘सर मेरो फोन’ आयो भनी टाप कसे ती पुरस्कारपिपासु साहित्यिक भाइ ।

यो पुरस्कार लुँड्याउने रोग हिजोआज गाढे घाउ जतिकै भएको छ । योग्य कृति वा योग्य स्रष्टा प्रशस्तै हुँहाहुँदै पनि कालुको ठाउँमा भालुलाई पुरस्कार प्रदान गर्ने परम्पराले जरा गाडिसकेको कुरा कसैले अस्वीकार गर्छन् भने ती पक्कै पनि मुल्यÞाहा र छुल्याहा श्रेणीकै सहित्यकारको सूचीमा पर्छन् भन्ने मेरो दाबी छ ।

हेनतेन नभनी लाजै पचाएर भनुम् भने, यस्ता भालुहरू छ्यापछ्याप्ती छन् । हुन ता ठूल्ठूला साहित्यिक पुरस्कारको लोभ नगर्ने विरलाकोटि पाइएलान् । तपाई हामीले जतिनै विरोध गरे पनि अचानक पुरस्कार विधाताले लोकलज्जा घुँइक्याउँदै ‘यसपालि त्यस्तै भयो…अर्कोपालि चैँ तपाईलाई पक्कै है’ भनेपछि गरुडको छेउमा जस्तै विषालु साँप लालाकलुलुक भएजस्तै तपाई–हामी ‘मापाझो’ क्याटागोरीमा पर्दैनौं र ? खान्नँ खान्नँ लोकाचार, खाएपछि मानाचार ।

तपाई हाम्रो साहित्य फाँटमा देखिने पुरस्कार विधाताहरूकै सही–सही, बिसही–बिसही भएकोले उनको पद, कद, हद बढ़ेको याद गर्नुभएकै होला । बाँस जति नै अग्लिए पनि आखिरमा त्यो नुहिन्छ भन्ने करो पनि पुरस्कार विधातालाई कण्ठस्थ छ र पनि उनको ढलीमली सबैले देखिरहेका छन्…हेरिरहेका छन्…तर विरोध गर्ने आँट कसैको देखिँदैन । किनभने सबै नै पुरस्कार लुँड्याउने दाउमा स्यालले अङ्गुर झर्छ कि भनी बोटको फेदमा रुङेझै रुङिरहेका देखिन्छन् ।

कसलाई पुरस्कार दिने हो, कसलाई पुरस्कारबाट वञ्चित गराउने हो त्यसको हिसाबकिताब गर्न निपुण पुरस्कार विधाताको हिसाबकिताब धर्मराजले मिलाउँदैछन् । ब्ल्यालेन्स सिट मिलेको दिन पुरस्कार विधाताको नेट इन्कम छिनाफाना हुन्छ भएपछि पुरस्कारको ब्यालेन्स सिट अडिट भएन भने मलाई भन्नोला ।

भर्खरै मात्र एउटा साहित्यिक कार्यक्रममा मलाई एकजना अग्रज साहित्यकारले भने, ‘हाम्रो भाइले पो यस्ता पुरस्कार पाउनुपर्ने हो…खै…यहाँ ता…।’

मैले उनको मर्म बुझेँ । नम्र भावमा उत्तर दिएँ,  ‘मेरो लागि सोंचिदिनुभएकोमा आभार । तर दाइ….मालिसे पालिसे र झोले भएर लुँड्याएको पुरस्कारलाई म वेश्याको सिन्दूर जतिकै ठान्छु । पुरस्कार विधाताको पाउ मोलेर पुरस्कार लुँड्याउने होडबाजीमा म कोशौं टाढा छु ।

तरै पनि पुरस्कार लुँड्याउन काकाकुली छटपटिनेहरू जति सबैलाई भक्कुचूर शुभकामना व्यक्त गर्दछु । उनीहरूको पुरस्कार लुँड्याउने जल्पना–कल्पना सफल होओस् ।

-सिलिगुडी (भारत) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *