कोशीमा कृषिः उत्पादन, गुणस्तर र बजारलाई ध्यान दिऔँ

कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एक तिहाइभन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले कोशी प्रदेशमा पहिलो पटक नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले ‘कृषि एक्स्पो २०८१’ आयोजना गर्ने जमर्को गरेको छ ।

कोशी प्रदेश, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रिय कार्यालयले प्रवर्द्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि, कृषि उपज वस्तु, भेटनरी, अलैँची, डेरी लगायतको प्रदर्शनी रहेको छ । कृषि विज्ञसँग छलफल तथा सेमिनार, नयाँनयाँ अनुन्सन्धान र परियोजनाहरूको प्रस्तुति गर्ने कार्यक्रम पनि छ ।

कोशी प्रदेश व्यावसायिक कृषिको लागि नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट निर्यात हुने अलैँची, चिया, अदुवा, अम्लिसो, तरकारीहरू, दुध, मासु, छुर्पी र जडिबुटीको मुख्य उत्पादन क्षेत्र हो यो । नेपालबाट विदेश निर्यात हुने अलैँची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशतभन्दा ठूलो हिस्सामा प्रदेशको योगदान छ । देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि यही प्रदेश हो । यो प्रदेशले आफूलाई पुर्‍याएर बढी भएको तीन लाख मेट्रिकटन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ । यहाँबाट ठूलो मात्रामा बेमौसमी तरकारी भारततर्फ र केरा लगायतका फलफूल काठमाडौँ तथा अन्य सहरी क्षेत्रमा निर्यात हुने गरेको छ । मासु, दूध, चीज, छुर्पी जस्ता उत्पादनमा यो क्षेत्र अगाडि छ भने बङ्गुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशतभन्दा माथि छ ।

माछा, मासुको माग बढेसँगै कुखुरा तथा माछा पालनमा यो क्षेत्रले तीव्र गतिमा प्रगति गरिरहेको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उद्योगहरू यो प्रदेशमा छन् । जसमध्ये धान चामल, जुट, दूध प्रशोधन, चिया, पशु दाना, मैदा तथा फलफूल तरकारी प्रशोधन गर्ने उद्योगहरू मुख्य छन् । धेरैजसो उद्योगलाई चाहिने कच्चा पदार्थ यो प्रदेशमै उत्पादन भइरहेको छ भने केही उद्योगहरू विदेशी कच्चा पदार्थमा आधारित छन् । तीमध्ये जुट उद्योगहरू विगतमा स्वदेशी उत्पादनमै चलेका थिए तर जुट उत्पादन क्षेत्र निरन्तर रुपमा घट्दै जाँदा धेरैजसो जुट उद्योगहरू आयातीत कच्चापदार्थमा आधारित हुँदै सञ्चालनमा छन् ।

प्रदेशका सम्भावनाहरु

देशको कृषि बस्तु आवश्यकताको ठूलो हिस्सा आयातीत कृषि उत्पादनले ओगटिरहेको छ । पूर्वी नाकाबाट आयात भइरहेका कृषि बस्तुहरुमा धान, चामल, मकै, आलु, कोदो, दालबाली, तरकारी, फलफूलको परिमाण ठूलो छ । हालको अवस्थामा यो कुरा नकारात्मक भए पनि यो अवस्था कोशी प्रदेश तथा देशकै लागि अवसर पनि हो । किनकी यी सबै बस्तुहरुको उत्पादन यो प्रदेशमा तथा देशका अन्य भागमा सम्भव छ र धान खेतीपछि बाझै रहने तराईको जमिनहरु तथा बिस्तारै बाँझिदै गइरहेको पहाडको ठूलो भूभागहरुमा ठूलो मात्रामा यी बस्तुहरु उत्पादन बढाउन सकिन्छ ।

अहिले पनि यो प्रदेशले देशको खाद्यान्न, केरा, दूध, मासु, चिया, आलु, तरकारीहरू, सुपारी, मसलाहरुको आवश्यकताको ठूलो मात्रामा आपूर्ति गरिरहेको छ । एभोकाडो, किवी, ड्रागनफ्रुट, स्ट्रबेरी, मह उत्पादनले नयाँ सम्भावनाहरु देखाइरहेका छन् । माछा, बंगुर र बाख्रापालन पशुपालनको क्षेत्रमा तीव्र विकास भइरहेका क्षेत्रहरु हुन जसमा अझै धेरै विकासका सम्भावनाहरु छन् । यस्ता वस्तुको उत्पादनको लागि सरकारले वातावरण बनाएर उद्योग स्थापना गर्न सहज गरे आयातमा निरुत्साहित हुनका साथै स्वदेशी उद्योग स्थापनामा आकर्षण बढ्ने थियो ।

प्राथमिकता तोकौं र अभियान सिर्जना गरौँ

सबैभन्दा राम्रो उत्पादन गर्न सक्ने र प्रतिस्पर्धी उत्पादन गर्न सक्ने कृषि बस्तुहरुलाई प्राथमिकतामा राखौं । हाम्रो पहाडमा उत्पादन भइरहेको अलैँची, चिया, छुर्पी, ताजा तरकारी, अदुवा, दुध, पशुपालन, जडिबुटी, फलफूलले आन्तरिक तथा बाह्य बजारमा आफ्नो पहिचान बनाइसकेको छ । यी सबै हाम्रा परम्परागत ज्ञान सीपमा आधारित उत्पादन हुन् ।

यी कृषि बस्तुहरु अझै ठूलो स्तरमा उत्पादन गर्न सकिन्छ । उत्पादनसँगै उत्पादित बस्तुहरुको गुणस्तर बढाउने कुराहरु, बजारसम्मको आफनै पहुँच बढाउने कुरा र निर्यातको लागि कानुनी अवरोधहरुको सहजीकरण हामीले तत्काल गर्नुपर्ने कार्यहरु हुन् ।

उत्पादन लागत घटाउन कृषिको यान्त्रीकरण अपरिहार्य छ । तर ठाउँ अनुसारका उपयुक्त  र सर्वसुलभ मेसिन औजारहरु खोजी गर्ने र तिनको प्रयोग गर्ने सीप सिकाउने कुरा एकदमै जरुरी छ । यो सबैका लागि सरकारी–निजी साझेदारीमा सघन रुपमा अभियान सिर्जना गरेर जान सकिन्छ । त्यसले गर्दा विविध उत्पादनका परिमाणात्मक क्षेत्रहरु विकास हुन सक्छ । उत्पादनको परिमाणले बजार र ती उत्पादित बस्तुहरुको मूल्यको निर्धारण गर्न सक्छ । परिणामस्वरुप दिगो र भरपर्दो कृषि क्षेत्रको बिकास गर्न सकिन्छ ।

तत्काल गर्नुपर्ने मुख्य कामहरू

कोशी प्रदेश तथा देशका अन्य भागबाट भारततर्फ निर्यात भइरहेका धेरै कृषि उत्पादनहरु दुई देशका बीच आयात–निर्यात हुने बस्तु सूचीमा समावेश छैनन् । ती कृषि उत्पादनहरु दुई देशबीच हुने सम्झौताहरु मार्फत् यथाशीघ्र आयात निर्यात हुने बस्तु सूचीमा समावेश गरिनुपर्छ ।

देशमा धूलो दूध तथा छुर्पीको उत्पादन र निर्यात बढेसँगै ठूलो मात्रामा उत्पादन हुने नौनी, घिउ तथा धूलो दुधलाई देशभित्रै खपतको लागि राज्यकोषबाट रासन खाने ठूलो संख्यामा रहेका सेना प्रहरी मार्फत् व्यवस्थापन गर्न सकिन्छ । जुन कुरा सरकारको एउटै निर्णयबाट समाधान हुन सक्छ । देशबाट अरबौं मूल्यमा निर्यात भइरहेको छुर्पीको गुणस्तर व्यवस्थापनमा सरकारले तुरुन्त पहलकदमी लिनुपर्ने हुन्छ । यो कुरा हजारौँ किसानहरुले दैनिकरुपमा उत्पादन गरिरहेका करोडौँ लिटर दुधसँग जोडिएको छ ।

यो प्रदेशमा स्थापना भएका बिषादी परीक्षण गर्ने प्रयोशालाहरुलाई हालसम्म पनि केन्द्रबाट स्विकृति नदिएका कारण ती प्रयोगशालाहरु पूर्णरुपमा सञ्चालन  हुन सकेका छैनन् । त्यसका कारण जनस्वास्थसँग प्रत्यक्ष सरोकार रहेको तरकारी तथा फलफूल मार्फत् मान्छेको भान्सामा पुग्ने बिषादी नियन्त्रणमा राम्ररी काम हुन सकेको छैन । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निर्णय सहित स्विकृतिको लागि पठाइएका यस्ता कुराहरुमा तुरुन्त निर्णय हुनु आवश्यक छ । यो निर्णयबाट हाल झापाको बिर्तामोडमा मात्र रहेको बिषादी परीक्षणको सुविधालाई प्रदेशका विभिन्न ठाउँहरुमा विस्तार गर्न सकिन्छ । प्रदेशमा रहेका कृषि फार्म र अनुसन्धान केन्द्रहरु सकेसम्म कर्मचारी दरबन्दीसहित प्रदेशमा हस्तान्तरण हुनुपर्छ । यसो हुन नसके पनि प्रदेशको प्रत्यक्ष समन्वयमा तिनको क्रियाकलाप सञ्चालन हुन आवश्यक छ ।

प्रदेशलाई चाहिने विभिन्न बाली तथा पशुपन्छीका जात ब्रिडहरु भित्र्याउने हालको प्रक्रिया अत्यन्तै झन्झटिलो भएको तथा पारदर्शी नभएकोले यो निर्णय प्रक्रियामा सम्बन्धित प्रदेश मन्त्रालयहरुको प्रत्यक्ष संलग्नता गरिनुपर्छ । यो प्रक्रियामा परीक्षण गर्ने कामको लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाहेक निजी अनुसन्धान तथा प्रविधि विकाससँग सम्बधित संस्थाहरुलाई पनि अनुमति दिन अति आवश्यक भइसकेको छ ।

देश–प्रदेशलाई उपयोगी हुनसक्ने प्रविधि र जात–नस्ल भित्र्याउने कुरामा हाल राज्यका सम्बन्धित निकायहरु या त निस्क्रिय छन् या अवरोधक जस्तो भएकामा उनीहरु स्वःस्फूर्त सहजीकरण गर्ने खालका हुनु आवश्यक छ । देशको कृषि क्षेत्र ज्यामी अभावमा पिल्सिरहेको हालको अवस्था र हाम्रो उच्च उत्पादन लागत घटाउँदै हाम्रा कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन कृषिमा भरपर्दो यान्त्रीकरण अभियान सर्वसुलभ तथा पारदर्शी कार्यप्रणालीमा आधारित बनाउन जरुरी छ ।

यो प्रदेश फलफूल, आलु तथा अन्य विभिन्न तरकारी उत्पादनमा अग्रणी रहे पनि उत्पादनपर्यन्त गरिनुपर्ने भण्डारण क्षमतामा कमजोर रहेकोले यो प्रदेशले पुर्याउन सक्ने योगदान गर्न सकिरहेको छैन । त्यसकारण भण्डारण क्षमतामा निकै धेरै बढाउन जरुरी छ । प्रदेशमा रहेका विभिन्न नदी खोलाहरुबाट पानी पम्प गरी तुरुन्तै सानो लगानीबाट सिँचाइ क्षमतालाई अधिकतम बढाउन सकिन्छ । जसबाट बगेर खेर गइइरहेको पानीले देशभित्रै सिँचाइ क्षमता बढाउन सकिन्छ र भूमिगत जलभण्डारलाई पुनर्भरण गर्न सकिन्छ ।

आयातीत कृषि औजारहरु स्वदेशमै उत्पादन गर्न प्रोत्साहित गरेमा सक्षम रहेको कुरा ‘मेड इन नेपाल’ का उत्पादनहरुबाट प्रमाणित भएको छ । किसानहरुले समयमै मलखाद नपाइरहेको अवस्थामा केन्द्रिय सरकारले प्रदेश सरकार मार्फत् मल आयात गर्न अनुमति दिनुपर्छ, जसबाट समयमै मल खाद्यको व्यवस्था हुन सक्दछ ।

निस्कर्ष

माथि उल्लेख गरिएका कुराहरु केही उदाहरण हुन् । यहाँ उठाइएका कुराहरु र समाधानका उपायहरुलाई कृषकहरुसम्म प्रत्यक्ष पुर्याउने उद्देश्यहरुका साथ यसैलाई दृष्टिगत गरी देशको औद्योगिक राजधानी तथा कृषि अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कोशी प्रदेशको राजधानी विराटनगरमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले बृहत कृषि प्रदर्शनीको आयोजना गरेको छ ।

यहाँ कृषिको प्राथमिक उत्पादन, कृषि प्रशोधन उद्योगका उत्पादन, कृषि औजार तथा उपकरण एवं कृषिसम्बन्धी अध्ययन, अनुसन्धान्न तथा कार्यक्रमबारे जानकारी सहितको समग्र विषय समेटिएका छन् । प्रदेशभित्र मात्र नभई देशभर र भारतका शहरहरुबाट समेत बस्तु तथा सेवा, सीप, औजार र उपकरणको प्रदर्शनी छ ।

यसलाई उत्पादकका लागि सहयोगी सामग्री तथा उपकरण प्राप्ति मात्र नभई उत्पादनको बजार पहिचानमा समेत सहयोग पुग्नेछ । प्रदर्शनीले नीति निर्माता, कृषि क्षेत्रका सरोकारवालाहरू, किसानहरु, कृषि व्यवसायीहरु, आपूर्तिकर्ताहरु र उद्योग क्षेत्र सरोकारवालाहरु, कृषि क्षेत्रका सम्भाव्य लगानीकर्ताहरु लगायतका बीचमा प्रत्यक्ष अन्तरक्रिया भई आगामी दिनमा यस प्रदेशमा मात्र नभई नेपालको कृषि क्षेत्रको विकासको नयाँ मार्गचित्र निर्धारण र कार्यान्वयनमा सम्बन्धित सबै पक्षलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले कृषि एक्स्पोलाई हरेक वर्ष निरन्तरता दिने सोच राखेको छ तर महासंघको सीमित स्रोत र साधनबाट मात्र यसको आयोजना गर्न सम्भव नभएको हुँदा यसका लागि केन्द्रीय सरकार र प्रदेश सरकारबाट समेत सहकार्य गरेर अगाडि बढ्नु पर्ने हुन्छ । कृषि मेला, महोत्सव, प्रदर्शनीहरुमा प्रविधि भित्र्याउने तथा सहकार्य सिजना गर्ने अवसरहरु हुन ।

यस्ता अवसरहरु सकारात्मक रुपले सदुपयोग गर्न सक्नुपर्छ । बल्ल यस्ता मेला महोत्सवहरु उपयोगी हुन सक्छन् । आ–आफ्ना सानातिना स्वार्थबाट मुक्त हुँदै दृढ अठोटका साथ इमान्दार प्रयास गर्ने हो भने यो प्रदेश अनि देशकै समृद्धिका अपार सम्भावनाहरू हामीसँग छन् । आर्थिक संमृद्धि र देशमै सुरक्षित रोजगारीका सम्भावनाहरू हामीसँग जति पनि छन् । त्यसैले हाम्रो रुपान्तरणको लागि सामूहिक अभियान सिर्जना गर्न लागि परौं भनी सबै सरोकारवालाहरुलाई आव्हान गर्न चाहन्छु ।

(नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतद्वारा एक्स्पो उद्घाटनका अवसरमा प्रस्तुत धारणाको सम्पादित अंश)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *