झापादेखि महेन्द्रनगरसम्म असोज ७ बाट सहुलियत मूल्य पसल
घटनास्थलमा भेला भएका स्थानीय बासिन्दा ।
काठमाडौँ । मुख्य पर्वहरू नजिकिएसँगै सरकारले सहुलियत मूल्य पसलहरू सञ्चालनको तयारी थालेको छ । असोजको पहिलो सातादेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीका अनुसार असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको उनको भनाइ छ ।
उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा त्यस्ता पसल सञ्चालन गर्ने गरिएको छ । पर्वका लागि खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न सहुलियत मूल्यमा बिक्री गर्ने भएको छ । के कति सहुलियत दिने भन्नेबारे यकिन गर्न बाँकी रहेको जनाइएको छ ।
पर्वका अवसरमा विभिन्न ४२ जिल्लाका ४८ भन्दा बढी स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । काठमाडौँ, मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, धनुषा, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । यसैगरी, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगरमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् ।
