जापानिज इन्सेफ्‌लाइटिस : कात्तिकसम्म जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जापानिज इन्सेफ्‌लाइटिस सङ्क्रमणको जोखिम कात्तिकसम्म रहेकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । स्वास्थ्य सेवा विभागले यो सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ ।

विभागअन्तर्गत परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले असोज १५ गतेसम्म जापानिज इन्सेफ्‌लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताएका छन् । सामान्यतया साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्‌लाइटिस सङ्क्रमण हुन सक्ने जोखिम रहेको उनको भनाइ छ ।

‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम रहेको हो । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि इन्सेफ्‌लाइटिस रोग लाग्ने विज्ञको भनाइ छ ।

जापानिज इन्सेफ्‌लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । डा. गौतमका अनुसार गत पुसदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६ सय ८० मध्ये ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सामान्यतयाः लामखुट्टेले टोकेको ६ देखि १६ दिनमा रोगका लक्षण देखा पर्छन् । टाउको धेरै दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यो रोगका लक्षण हुन् ।

यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्ने जस्ता काम गरेर सावधानी अपनाउन विभागले आग्रह गरेको छ । जापानिज इन्सेफ्‌लाइटिस धेरैजसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छ । सरकारले १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *