रोएर दिक्क लगाएको भन्दै विष खुवाएर दुई महिने छोराको हत्या
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा
काठमाडौँ । ओखलढुंगामा एकजना महिलाले आफ्ना दुई महिने छोराको विष खुवाएर हत्या गरेकी छन् । प्रहरीका अनुसार ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईले आफ्नै छोराको हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार ती महिलाले छोरालाई विष खुवाएर हत्या गरी जंगलमा लगेर फालेको स्वीकार गरेकी छन् ।
बालकलाई कीराबाट बाली जोगाउन खेतबारीमा प्रयोग गरिने ‘अलफाइटर’ नामक कीटनाशक विषादी खुवाएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।
बयानका क्रममा ती महिलाले बालक जन्मेदेखि रोइरहने, दिक्क लगाउने गरेकाले हत्या गरेको बताएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । ती महिलाका बालकअघि जन्मिएका दुई छोरी छन् । उनका चार र ६ वर्षीय छोरी रहेको प्रहरीले जनाएको छ ।
असार ३१ गते चिशंखुगढी–८ बाघखोरस्थित जङ्गलमा शिशु मृत अवस्थामा भेटिएका थिए । अनुसन्धानका क्रममा उनी सिद्धिचरण–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको प्रहरीले जनाएको छ । दिपकुमारीलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
