घरबार छाडेर समुद्री यात्रामा रमाउँदै दम्पती
अन्टारियो। ६ वर्षअघि टोरी कार्टरलाई ढाडमा चोट लाग्दा उनी र उनका पति किर्क रिक्यानले निर्णय गरे– जीवन धेरै छोटो छ । वरपर घुमफिर गर्न र सपनाहरु पूरा हुने प्रतीक्षा गर्न समय थोरै छ।
त्यसैले सेवानिवृत्त यो क्यानेडियन दम्पतीले पानीजहाजमा लामो समयसम्म यात्रा गर्ने योजना बनायो।
योजनाका लागि खर्च आवश्यक थियो। त्यसका लागि उनीहरुले २०२२ को अन्त्यमा अन्टारियोको ब्राइटनमा रहेको आफ्नो घर बेचे।
यात्रा योजनाका लागि केही अध्ययन गरे। त्यसपछि यात्राका लागि भिसा पाए अनि यात्रा सुरु गरे।
यो दम्पती समुद्रमा अवकाश समय बिताउन खोज्ने मानिसहरुको बढ्दो प्रवृत्तिको हिस्साका रुपमा देखा परेका छन्।
विश्व यात्रा गर्नका लागि यसलाई उनीहरुले कम महँगो तरिकाका रुपमा हेरेका छन्।
उनीहरुले स्थानीय सञ्चार माध्यमसँग भनेका छन्, ‘हामी यो योजना पूरा गर्न चाहन्छौ, किनभने अहिले हामीसँग हाम्रो राम्रो स्वास्थ्य छ।’
५४ वर्षीय कार्टर सेवानिवृत्त हाइस्कुल शिक्षक हुन् भने ५० वर्षीया रिकम्यान सेवानिवृत्त निर्माण प्लान्ट पर्यवेक्षक हुन्।
यात्रा सुरु गरेयता उनीहरुले हालसम्म ७५ वटा देश र क्षेत्रहरुको भ्रमण पूरा गरिसहेका छन्।
२०२४ को अप्रिलसम्म त्यो संख्या ८८ पुर्याउन उनीहरुको लक्ष्य छ।
यात्राका लागि उनीहरुलाई विभिन्न क्रूजहरुले प्रस्ताव गरे पनि उनीहरुले भने ‘क्रूज हप’ मन पराएका थिए।
यो जोडीले अमेरिका, पनामा नहर, जापान, दक्षिण कोरिया, ताइवान, क्यानाडा, अलास्का, ग्रीनल्याण्ड, अन्टार्कटिका, कोस्टारिका र अन्य धेरै गन्तव्यहरुको भ्रमण गरिसकेको छ।
यात्राका क्रममा उनीहरुले केही रमाइला सम्झनाहरु सँगालेका छन्।
किम्यानलाई इजरायलको ‘डेड सी’ मा सागरमा तैरिएको र सान्ता क्लजले टेन्डर डुंगामा क्रूज पाहुनाहरुलाई उपहारहरु दिएको रमाइलो सम्झना उनीहरुसँग छ।
यात्रा सुरु गर्ने समयभन्दा पाँचदेखि ६ महिनाअघि उनीहरुले क्रूजमा आफ्ना लागि स्थान बुक गर्छन्।
अब उनीहरु ब्राजिल, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्याण्डलगायत गन्तव्य जाने योजनामा छन्।
‘हामी संसार घुमिरहेका छौं, देखिरहेका छौं, जताततै रोमाञ्चक छ’ रिकम्यान भन्छन्।
यस्तै यात्रा गर्नेमध्ये अर्को अमेरिकी जोडी पनि छ।
७५ वर्षीय जोन र ६३ वर्षीया मेलोडी हेनेसीका लागि समुद्रमा अवकाश लिनु स्वाभाविक लाग्यो।
अमेरिकी यो जोडी आफ्नो जीवनको अधिकांश समय नाविक थिए। प्रत्येक गर्मीमा बहामासको पानीमा तीनदेखि चार महिना बिताउने गर्थे।
२०२१ मार्चमा आफ्नो मोटरहोममा यात्रा गर्नका लागि फ्लोरिडाको घर र व्यवसाय उनीहरुले बेचेका थिए।
त्यसपछि उनीहरुले क्यालिफोर्निया प्रायद्वीप, क्यानाडा र अलास्का हुँदै यात्रा गरेका थिए।
त्यसपछि उनीहरुले आफ्नो मोटरहोम बेचे र क्रूज लिए।
यसरी यात्रा गर्नु निकै रोमाञ्चक हुने उनीहरुको अनुभव छ।
अचेल धेरै सेवा निवृत्त जोडीहरुले यसरी समुद्री यात्रा गर्दै समय बिताउने गरेको पाइन्छ।
जमिनमा सेवानिवृत्त जीवनभन्दा समुद्रमा अवकाश लिनु सस्तो पर्छ?
विभिन्न अध्ययनको अनुमानअनुसार लगभग ४० हजार डलरदेखि १ लाख ५० हजार डलरसम्म एक वर्षका लागि पूर्ण समय समुद्री यात्राको लागत पर्छ।
कार्टर र रिकम्यानले लागतहरु जहाजअनुसार फरक हुन सक्ने बताएका छन्।
यसैगरी व्यक्तिको आवश्यकतामा पनि खर्च निर्भर हुने उनीहरुको भनाइ छ। सकेसम्म पुराना जहाजहरुमा यात्रा गर्न मन पराउने गरेको उनीहरुले बताएका छन्।
त्यसो गर्दा कतिपय अवस्थामा यात्रा लागत बढी पर्न सक्ने दम्पतीले उल्लेख गरेका छन्।
यात्राको लागतमा पोर्ट शुल्क, कर, यात्रा बीमा, एक क्रूज पोर्टबाट अर्कोमा जानका लागि यातायात, वाइफाइ, दैनिक खर्च, भ्रमण, पेय पदार्थ जस्ता कुराहरुमा खर्च हुने उनीहरु बताउँछन्।
समय समयमा उनीहरु देशको सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमा पहुँच कायम राख्न क्यानाडा फर्कने गरेका छन्।
अन्टारियो स्वास्थ्य बीमा कभरेज नीतिअन्तर्गत सेवा पाउन उनीहरु आउँछन्। १२ महिनाको अवधिमा करिब सात महिना आफूहरु देशबाहिर हुन सक्ने कार्टरको भनाइ छ।
क्यानाडाको उक्त सेवानिवृत्त जोडी ग्रेटर टोरन्टो क्षेत्रमा रियल्टर पनि थिए। उनीहरुले आफ्नो जीवनशैली व्यवस्थित गर्नका लागि धेरै मेहनत गरेको बताएका छन्।
आफूहरुले जुटाएको खर्चमध्ये अधिकांश घर बिक्रीबाट आएको कार्टर र रिकम्यानले बताएका छन्।
यसबाहेक लगानी र पेन्स कोषले पनि उनीहरुको यात्रामा महत्वपूर्ण योगदान पुर्याएको छ।
उनीहरुले भनेका छन्, ‘हामी धेरै खर्च गर्ने पनि होइनौं, यसका लागि हामी हाम्रो बजेट हेर्छौं।’
यसैगरी हेनेसी जोडीले जमिनमा बस्दाको तुलनामा पूर्ण समय क्रूजमा कम खर्चिलो हुने बताएका छन्।
जमिनमा बस्दा धितो, बीमा, सम्पत्ति कर, खाने र पिउने कुरा, सवारी साधनको खर्च, विभिन्न खर्चका बिलहरु तिर्नुपर्ने तर जहाजमा बस्नु भनेको धेरै सस्तो जीवनशैली हुने उनीहरुको अनुभव छ।
यसरी यात्रा गर्नेहरुले विभिन्न गन्तव्यमा चिनजानका मानिसहरुलाई भेटिने, क्रूज संस्कृतिसँग घुलमिल भइने, खुला रुपमा मित्रता बढाउन पाइने जस्ता रमाइलो अनुभव हुने बताएका छन्।
नयाँ नयाँ मित्र बनाउन र उनीहरुसँग रमाउनु अदभुत अनुभव हुने उनीहरुको भनाइ छ।
-नेपाल टचबाट