पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।
पोखराको बाराहीघाटमा आज आयोजित कार्यक्रममा उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले ‘पर्यटन राजधानी’ को लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण पनि गरेका थिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजधानी घोषणासँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने बताए ।
पोखराको पर्यटनमा झन्डै सात खर्ब रुपैयाँ लगानी भएको र पर्यटन राजधानी घोषणाले पर्यटन पूर्वाधार निर्माणमा थप ध्यान पुग्ने अपेक्षा गरिएको छ ।
पोखरामा अब व्यापार व्यवसाय राति एक बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यसैगरी, केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर चौबीसै घण्टा खुला गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
यसैबीच, पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाएको छ ।