विदेशबाट फर्केकाहरुको सीप उपयोग गर्न ८१ पालिकामा कार्यक्रम

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरी सरकारले देशभरका ८१ वटा पालिकामा ‘पुनः एकीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुले विदेशमा प्राप्त गरेको सीप उपयोग गर्दै वैदेशिक रोजगारीमाथिको परनिर्भरता कम गर्न वैदेशिक रोजगार बोर्ड सचिवालयले यो कार्यक्रम सुरु गर्न लागेको हो ।

सचिवालयको सहयोगमा सातै प्रदेशका ८१ वटा पालिकाहरुसँगको साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएको हो ।

पालिकाहरुले स्थानीयस्तरमा भएका स्रोत साधनको उपभोग र आफ्ना आवश्यकता अनुसारका कार्यक्रम बनाएका छन् ।

कार्यक्रमका लागि प्रतिव्यक्ति ११ देखि २५ लाख रुपैयाँसम्म कार्यक्रम सञ्चालनका लागि बोर्डमा पालिकाहरुले प्रस्ताव पेश गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आधुनिक कृषिदेखि लघु उद्यमका कार्यक्रममा जोड्न सुझाव दिँदै आएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले न्यूनतम १५ सय देखि २५ सय रुपैयाँसम्म वैदेशिक रोजगार कोषमा योगदान गर्ने गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार उक्त कोषमा ६ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ । यही कोषबाट सरकारले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २२ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेशमा छन् । अवसरको अभावमा उनीहरुले विदेशमा आर्जन गरेको सीप, अनुभव स्वदेशमा उपयोग गर्न सकिरहेका छैनन् ।

कतिपयले भने विदेशमा सिकेको सीप प्रयोग गरेर आफ्नै ठाउँमा उद्यम गरिरहेका छन् । यस्तो संख्या निकै कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *