असल मानिसमा श्रद्धाञ्जली
“मलाई एउटा असल मानिस भनेर सम्झिदिए पुग्छ।”
-बीपी कोइराला
आज साउन ६ गते। एउटा असल मानिस स्वर्गारोहण भएको दिन। आजभन्दा ४४ वर्षअघि अर्थात् २०३९ साउन ६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको देहावसान भएको थियो। पूर्वीय परम्परामा स्वर्गारोहण दिवसमा पितृहरूको स्मरण गर्ने चलन छ।
मृतकका सन्ततिहरूले सनातन विधिअनुसार रीतपूर्वक गर्ने यस्तो स्मरण कार्यलाई श्राद्ध भनिन्छ। समाजका महापुरुषको स्मृति दिवस उनीहरूको विचार र योगदानको चर्चाका साथ विभिन्न सामाजिक कार्यहरू गरेर समाज आफैँले मनाउँछ। त्यसैले आजको दिन नेपाल र नेपालीका लागि बीपीको देनलाई श्रद्धापूर्वक स्मरण गर्नु सान्दर्भिक मात्रै होइन, लोकतन्त्रमा विश्वास राख्ने प्रत्येक नेपालीको कर्तव्य पनि हो।
फोक्सोको क्यान्सरबाट पीडित बीपीको ६८ वर्षको उमेरमा काठमाडौँमा भएको निधनको खबर उसै दिन बेलुका रेडियो बीबीसीबाट सुन्दा यो पङ्क्तिकार केही समय विक्षुब्ध हुनपुगेको थियो, यद्यपि त्यस समयको उहाँको स्वास्थ्यावस्थाको जानकार मेरा लागि लगभग त्यो अनपेक्षित थिएन।
बीबीसीको हिन्दी भाषाको समाचार विश्लेषण कार्यक्रम ‘आजकल’ चलिरहेको बेला त्यस कार्यक्रमलाई बिचैमा बिसाउँदै “भर्खरै प्राप्त समाचारअनुसार” भनेर बीपीको महाप्रस्थानको समाचार प्रसारण गरिएको थियो। उस बेलाको यातायातको दुरावस्था, त्यसमा पनि वर्षाको समय भएकाले तीव्र आकांक्षा हुँदाहुँदै पनि उहाँको शवयात्रामा सहभागी हुन नसकेको पीडा अद्यापि अनुभव हुन्छ।
बीपीको निधनमा तत्कालीन राजा वीरेन्द्रले समेत शोक सन्देश दिएका थिए, यद्यपि त्यसको भाषा शोकयुक्त नभएर कुटिल थियो। राजाले जनताका छोराको निधनमा दिएको सायद त्यो नै पहिलो शोक सन्देश होला। त्यसमा भनिएको थियो, “हाम्रा देशवासी जोसुकैको निधन भए पनि हामीलाई दुःख लाग्नु स्वाभाविकै हो। भूतपूर्व प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको निधनले हामीलाई चोट पुर्याएको छ। उनको निधनपछि नयाँ पुस्ताले देशप्रेम र जिम्मेवारीको भावनासाथ बितेको अनुभवबाट शिक्षा लिँदै देशहितको काममा असल कुरालाई अघि बढाउनुपरेको छ। हामी र हाम्रा बडामहारानीका तर्फबाट शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ। श्री परमेश्वरले दिवङ्गत आत्मालाई शान्ति देऊन्।”
अन्तर्राष्ट्रिय जगत्बाट बीपीमा श्रद्धासुमन बर्सिने नै भयो। जर्मनीका चान्सलर तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष विली ब्रान्टले बीपीको निधनमा सम्प्रेषित शोक सन्देशमा भनेका थिए, “बीपी कोइराला सधैँ जनाधिकारका रक्षक, राष्ट्रहरूको स्वाधीनताका पक्षधर र स्वतन्त्र तथा न्यायपूर्ण समाजका पक्षमा उभिन हामीलाई उत्प्रेरणा दिइरहने व्यक्ति हुनुहुन्थ्यो।”
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो शोक सन्देशमा भनेकी थिइन्, “श्री बीपी कोइरालाको निधनको खबरले मर्माहत भएकी छु। उहाँ नेपालका राजनेता र लोकतन्त्रका अग्रणी योद्धा हुनुहुन्थ्यो। उहाँको निधनबाट नेपाललाई अपूरणीय क्षति भएको छ। भारतले समेत एक असल मित्र गुमाएको छ।”
भारतीय नेताहरू पूर्वप्रधानमन्त्री चन्द्रशेखर, बिहारका पूर्वमुख्यमन्त्री कर्पूरी ठाकुर, सत्येन्द्रनारायण सिन्हाहरू शवयात्रामा सरिक हुन काठमाडौँ नै पुगेका थिए। यी नेताहरू बीपीलाई आफ्ना राजनीतिक गुरुसरह मान्थे। त्यसैगरी काठमाडौँस्थित विभिन्न देशका दूतावासका प्रमुख तथा प्रतिनिधिहरू पनि शवयात्रामा सहभागी भएका थिए।
अल इन्डिया, बीबीसी, भ्वाइस अफ अमेरिका, रेडियो जर्मनलगायतका विश्वका प्रसिद्ध प्रसारक संस्था तथा भारतका सबै पत्रपत्रिकादेखि लिएर न्युयोर्क टाइम्ससम्मका अन्तर्राष्ट्रियस्तरका समाचार पत्रिकाहरूले कोइरालामा श्रद्धाञ्जली व्यक्त गर्दै विशेष आलेखहरू प्रसारित तथा प्रकाशित गरेका थिए।
बीपीको शवयात्रामा असंख्य नरनारी सहभागी भएको, उहाँको अन्तिम संस्कार आर्यघाटमा गरिएको समाचार अल इन्डिया, बीबीसी, भ्वाइस अफ अमेरिकालगायतका रेडियोले प्रमुखताका साथ प्रसारण गरेका थिए। त्यसको महिना दिनपछि इलाम सदरमुकाममा भेटिएका उच्च तहका एक सरकारी कर्मचारीले यस पङ्क्तिकारलाई सुनाएका थिए, “अफिसमै भए पनि काम गर्न मन लागिरहेको थिएन। शवयात्रा सुरु भयो भन्ने सुनेपछि आफूलाई थाम्न सकिनँ, निस्किएर त्यसमा सहभागी भएँ। बेलुका घर आएर नुहाएर अञ्जली दिएँ र छाक छाडेर उहाँप्रति आफ्नो श्रद्धा पोखेँ।”
बीपी स्मृति दिवस पारेर २०८१ साउन ६ मा रातोपाटीमा प्रकाशित आफ्नो लेखमा हरिविनोद अधिकारी सम्झन्छन्, “आज पनि मेरो जेहेनमा बीपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको शवयात्राको दृश्य झलझली आइरहेको छ ४२ वर्षअघिको। लाखौँ मानिस बीपीको शव राखिएको ट्रकको पछि-पछि रुँदै कराउँदै हिँडिरहेका थिए। ती कति आस्थाका कारणले हिँड्दै थिए, कति यस्तो असाधारण क्षमताको मानिस यो देशमा पनि जन्मेको थियो र आज उसको परमधाम गमन भयो भन्ने मुलुकको अपूरणीय क्षतिप्रति रुँदै थिए त कति अब प्रजातन्त्रको दियो कसले बाल्ला भनेर निराशा व्यक्त गर्दै थिए, तर लाखौँ नेपाली बाटामा निस्केर वीर बीपी अमर रहून्, प्रजातन्त्र ल्याउँछौँ ल्याउँछौँ भन्दै नारा लगाउँदै पनि थिए। सकेसम्म नाराका रूपमा जुलुसको प्रबन्ध गरिएको थिएन र पनि युवाहरूमा स्वतःस्फूर्त बीपीप्रतिको आस्था देखिएको थियो।”
अधिकारी अगाडि लेख्छन्, “ठाउँ-ठाउँमा उहाँको बिदाइका लागि लाखौँ मानिस उभिएका थिए अश्रुपूर्ण नयन लिएर। सडकमा उहाँको पछिपछि लाग्ने लाखौँ थिए। नेपाल विद्यार्थी सङ्घले सुरक्षाको प्रबन्ध गरेको थियो। सहरको मुख्य-मुख्य भाग हुँदै जब खास सहरभित्र शवयात्रा प्रवेश गर्यो, माथि छतबाट अबिर, फूल, अक्षता र गर्मी भयो होला बीपीलाई भनेर र शवयात्रामा हिँडेका हाम्रा लागि माथिबाट शुद्ध पानीको वर्षा गरिएको थियो। वृद्धहरू रुँदै बीपीको शवमा फूलमाला चढाउन लालायित देखिन्थे।”
जसरी स-साना क्षेत्रका राजा-रजौटामा बाँडिएका बाइसे र चौबिसे राज्यहरूलाई एकत्रित गरी नेपाल नामको देश बनाउने कामको नेतृत्व गरेको जस पृथ्वीनारायण शाहलाई जान्छ, भूगोल, जातजाति र संस्कृतिमा विभाजित नेपालीहरूलाई भाषाका माध्यमबाट एउटै सूत्रमा बाँध्ने कामका निम्ति भानुभक्तको जसरी प्रशंसा हुन्छ, त्यसरी नै जहानियाँ राणा शासनको कठोर बन्धनबाट नेपाली राजा र जनतालाई मुक्त गराएर नेपाललाई आधुनिक युगमा प्रवेश गराउने जनक्रान्तिको नेतृत्व गरेको सुकीर्ति बीपी कोइरालालाई जान्छ। त्यसका अतिरिक्त, मुलुकमा सैन्यबलका भरमा महेन्द्रले मासेको प्रजातान्त्रिक पद्धतिको पुनःस्थापनाका लागि उहाँले गरेको आजीवन संघर्षको प्रेरणादायी कथा मुलुकको इतिहासमा स्वर्णाक्षरमा अङ्कित छ।
मुलुकमा लोकतान्त्रिक पद्धतिले संस्थागत रूप लिन लाग्दै गर्दा सत्तालोलुप महेन्द्रले सैन्यबलका आडमा जननिर्वाचित सरकार र त्यसको प्रमुख मात्रै होइन, पद्धतिमाथि नै हमला गरे। जनताका लोकतान्त्रिक अधिकारहरू खोसिए। बीपीलगायतका जनप्रतिनिधि नेताहरूलाई गैरकानुनी रूपमा बन्दी बनाइयो। तर बीपी महेन्द्रको सैनिक सत्तासँग झुक्नुभएन। आठ वर्षपछि जेलमुक्त भएर उहाँ उपचार गर्न भारत जानुभयो।
नेपालमा बसेर शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सम्भव नदेखेर बीपीले भारतबाटै पञ्चायती राजविरुद्ध सशस्त्र संघर्षको आह्वान गर्नुभयो। विद्रोह र प्रतिरोधका धेरै घटनाहरू भए। तीमध्ये टिमुरबोटे घटना ज्यादै पीडादायी हुनपुग्यो। यसबीच शक्ति राष्ट्रहरूको सामरिक प्रतिस्पर्धाले दक्षिण एसियामा पारेको नकारात्मक प्रभाव, भारतमा लगाइएको आपत्काल, सिक्किमको भारतमा विलय र देशभित्रैको आन्तरिक द्वन्द्वका कारण नेपालको एकता र सार्वभौमिकतामाथि नै खतराको बादल मडारिएको अनुभव गरेर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ सालमा बीपी आफ्ना सहयोद्धा सहकर्मीहरूका साथ नेपाल फर्किनुभएपछि त्यसले ल्याएको राजनीतिक तरङ्गले जनमत सङ्ग्रह गराउनेसम्मको अवस्था सिर्जना भयो।
राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएका कारण दुई दशकदेखि नेपाली कांग्रेसले संस्थागत रूपमा जनस्तरमा भिज्न पाइरहेको थिएन तर जनमत सङ्ग्रहले जनस्तरमा पुग्ने बाटो खोलिदियो। बहुदलको प्रचारप्रसारमा बीपी स्वयंले देशका विभिन्न भागको भ्रमण गर्नुभयो, आमसभाहरूलाई सम्बोधन गर्नुभयो र धेरै नरनारीसँग प्रत्यक्ष भेटघाट र संवाद गर्नुभयो। नेपाली कांग्रेसका अन्य नेता-कार्यकर्ता पनि सक्रिय भएर जनमत सङ्ग्रहमा लागे। तर बहुमत पञ्चायतको पक्षमा गयो।
बीपीले जनमतको परिणामलाई स्वीकार गर्दै पुनः देशदौडाहा सुरु गर्नुभयो। झापादेखि धनगढीसम्म पार्टीका भेलाहरू गरेर पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटेर बीपीले तिनको मनोदशाको अध्ययन गर्नुभयो। उनीहरूमा निराशाभाव कतै थिएन, सबै उत्साहित नै थिए।
पञ्चायतमा पहिलो पटक हुन लागेको राष्ट्रिय पञ्चायतको निर्वाचनमा आफ्ना कार्यकर्तालाई सहभागी गराउन सकिने वातावरणको खोजीमा उहाँले राजालाई भेट्ने प्रयास गर्नुभयो तर दरबारलाई घेरेर बसेको शक्तिले उहाँलाई राजासँग भेट गर्न दिएन। अन्ततः उहाँले त्यो निर्वाचन बहिष्कार गर्न आफ्ना संगठनका साथीहरूलाई अपिल गर्नुभयो।
यहाँसम्म आउँदा उहाँको स्वास्थ्यले उहाँलाई साथ दिन छाडिसकेको थियो। उहाँले भारत तथा अमेरिका गएर उपचार गराए पनि त्यसको परिणाम अपेक्षित हुन सकेन। उहाँले गर्न सोचेका काम धेरै थिए। उहाँ कांग्रेसको इतिहास लेख्न चाहनुहुन्थ्यो तर समय पाउनुभएन। एक प्रकारले मृत्युशय्यामा पुगेका बीपीबाट गणेशराज शर्माले ‘आत्मवृत्तान्त’ भनाउन सक्नुभयो जसमा उहाँका केही प्रमुख अनुभव र अनुभूति समेटिएका छन्।
आजभन्दा ६७ वर्षअघि राजा महेन्द्रले प्रधानमन्त्री बीपीलाई सोधेका थिए, “अब तपाईंको जीवनको लक्ष्य के छ?”
बीपीको सहज उत्तर थियो, “म सम्पूर्ण नेपालीलाई मेरो जस्तै आर्थिक अवस्थामा पुर्याउन चाहन्छु। मेरो विराटनगरमा जमिन छ, गाई पालेको छ। नानीहरूले दूध खान पाउँछन्। स्कुल जान्छन्। सामान्य बिरामी पर्दा औषधि गर्न सकिन्छ। सबै नेपालीलाई आर्थिक रूपले म कम्तीमा यत्तिको अवस्थामा पुर्याउन चाहन्छु। त्यसका लागि मलाई १५ वर्षको समय चाहिन्छ।”
तर महेन्द्र बीपीलाई त्यो समय दिन तयार भएनन्, उहाँलाई बन्दी बनाएर सैन्यबलले राज गर्नेतिर लागे। परिणामस्वरूप आज सात दशक बित्न लाग्दा पनि सबै नेपालीको आर्थिक अवस्था उस बेला बीपीले परिकल्पना गरेको स्तरमा पुग्न सकेको छैन। बरु २०१७ साल पुस १ गते महेन्द्रले रोपेको विषवृक्षले राजसंस्था स्वयंलाई मटियामेट गरिदियो, मुलुक अझै सुस्थिर मार्ग समाउन संघर्षरत छ।
प्रजातन्त्रका अथक योद्धा, समाजवादी चिन्तक बीपी कोइरालामा हृदयदेखि नै श्रद्धासुमन।
