दिल्लीमा निकिताको स्यान्डल !

म रवि लामिछानेको भारत भ्रमण सफल भएको देख्दा खुसी नै छु। तर यो भ्रमणको एउटा तस्बिर हेरेपछि मलाई अर्कै एउटा कुरामा फ्याट्ट बोल्न मन लाग्यो।

कुरा रविजीकी श्रीमती निकिता पौडेलको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले खुला स्यान्डल वा चप्पल लगाएकी रहिछन्।

कतिपयलाई लाग्न सक्छ, “यो जुत्ता चप्पलको कुरामा पनि केको किचकिच?” तर म एउटा प्रोफेसनल फोटोग्राफर भएको नाताले र विगतमा ठूला-ठूला राष्ट्रपतिहरूको भ्रमणलाई नजिकबाट खिचेको, संयुक्त राष्ट्रसङ्घको महासभामा गएर फोटो खिचेको अनुभवका आधारमा म यो भन्दै छु। कुन कुरा फर्मल हो र कुन इन्फर्मल, मलाई राम्रोसँग थाहा छ। फेरि फोटोग्राफी मात्र कहाँ हो र, मैले अमेरिकाको एउटा निकै महँगो फर्मल फेसन कम्पनीमा पनि पूरा एक दशक काम गरेको छु। त्यसैले यो मेरो अनुभवले देखेको कुरा हो, सामान्य गनगन होइन।

हाम्रो जानकारी र कूटनीतिक नियम अनुसार, जब तपाईं कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीलाई भेट्दै हुनुहुन्छ, त्यो नितान्त औपचारिक कार्यक्रम हो। यस्तो बेला महिला होस् या पुरुष, खुला जुत्ता वा स्यान्डल लगाउनु कत्ति पनि राम्रो मानिँदैन। त्यहाँ तपाईंलाई कसैले “किन यस्तो लगाएको?” भनेर टोक्न त टोक्दैन, तर त्यो फर्मल एथिक्सभित्र पर्दैन।

कुनै कारणले खुला जुत्ता लगाउनै परे पनि भित्र मोजा लगाउनै पर्ने हुन्छ। औपचारिक कार्यक्रममा खुट्टाको औँला देखाउनु सोभनीय मानिँदैन।

यहाँ हाम्रा नेपाली दिदीबहिनीहरूले एउटा जायज प्रश्न उठाउन सक्नुहुन्छ, “साडी वा कुर्ता लगाउँदा त सधैँ स्यान्डल नै लगाइन्छ, जुत्ता कसरी लगाउने?”

अहिले जमाना धेरै अगाडि बढिसक्यो। आजभोलि साडी वा कुर्थासँग मज्जाले मिल्ने र सुहाउने खालका पातला बन्द जुत्ताहरू सजिलै पाइन्छन्।

यो नियम तपाईं कुनै औपचारिक कार्यक्रम, विवाह वा कुनै पार्टीमा जानुभएको छ भने पनि लागू हुन्छ। औँला देखिने जुत्ता वा चप्पल लगाउनु हुँदैन।

वास्तवमा हाम्रो लवाइखवाइ भनेको फेसन मात्र होइन, यो हाम्रो सभ्यता र अरूप्रतिको आदर पनि हो। अझ जब तपाईं देशको प्रतिनिधित्व गर्दै उच्च तहमा पुग्नुहुन्छ, त्यहाँ तपाईंको टाउकोदेखि खुट्टाको जुत्तासम्मले एउटा सन्देश दिइरहेको हुन्छ। त्यसैले यस्ता मसिना कुरामा हामीले अलिकति ध्यान दिने कि?

* * * 

विमल नेपाल प्रतिष्ठित नेपाली-अमेरिकी फोटो पत्रकार र व्यावसायिक फोटोग्राफर हुन्, जसले नेपालमा आर्थिक पत्रकारिताबाट आफ्नो करियरको सुरुवात गरेका थिए। बोस्टन युनिभर्सिटीको कलेज अफ कम्युनिकेसनबाट फोटोग्राफी अध्ययन गरेपछि उनले अमेरिकाको सबैभन्दा पुरानोमध्ये एक surviving पत्रिका द क्याम्ब्रिज क्रोनिकलमा काम गरे भने केही वर्ष हार्भर्ड युनिभर्सिटी क्षेत्रमा आफ्नो फोटो स्टुडियो समेत सञ्चालन गरे। नेशनल जियोग्राफिक र द बोस्टन ग्लोब जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका उनका तस्बिरहरू र सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रतिलिपि अधिकार विवादले उनलाई विश्वव्यापी चर्चामा ल्याएको थियो। बोस्टन म्याराथनको आधिकारिक फोटोग्राफरका रूपमा समेत दख्खल राख्ने नेपालले आफ्नो लेन्स मार्फत नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *