मेचीनगरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापा। झापाको मेचीनगर नगरपालिका-७ स्थित सतिघट्टा चिया बगाननजिक स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना मोटरसाइकलमा सवार छन्।
बुधबार अपराह्न भएको दुर्घटनामा मेचीनगर-७ का २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलको पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनायो।
मेचीनगर-९ मा रहेको होलीबेल स्कुलको मे १ क ३९१ नम्बरको बस गोमनचरीबाट धुलाबारीतर्फ भित्री सडक हुँदै जाँदै गरेको थियो।
सोही क्रममा इँटाभट्टाबाट गोमनचरीतर्फ आउँदै गरेको मे ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग मेचीनगर-७ को इँटाभट्टास्थित सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको प्रहरीले जनायो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे। घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
