रास्वपा र भाजपा नेतृत्वबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भाजपाको शीर्ष नेतृत्वसँग राजनीतिक तथा कूटनीतिक भेटवार्ता गरेको छ।

प्रतिनिधिमण्डलमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायतको सहभागिता थियो।

भेटघाटका क्रममा रास्वपा टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका वरिष्ठ नेताहरूसँग द्विपक्षीय छलफल गर्दै दलगत कूटनीतिको अभ्यासलाई अघि बढाएको छ।

दुई छिमेकी राष्ट्रबीचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासहरूमाथिको संवादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको रास्वपाको भनाइ छ।

यसका साथै, बैठकमा सुदृढ साङ्गठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान गरिएका थिए।

यस छलफलले दुई दलबीचको आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै रास्वपाको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक परिपक्वतालाई थप बल पुर्‍याउने विश्वास लिइएको रास्वपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *