नेपालको भूमि मिचिन दिनु हुँदैन : रास्वपा
काठमाडौँ। भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो धारणा सार्वजनिक गरेको छ।
पार्टीका महामन्त्री एवं सांसद कबीन्द्र बुर्लाकोटीले मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा पार्टीको धारणा स्पष्ट रहेको बताए। उनले यो विषयमा आफ्नो व्यक्तिगत विचारभन्दा पनि पार्टीकै आधिकारिक धारणा राख्नु उपयुक्त हुने उल्लेख गरे।
महामन्त्री बुर्लाकोटीले नेपालको भूमि मिचिन दिनु हुँदैन भन्नेमा रास्वपा दृढ रहेको बताए। मिचिएका भूमिहरू फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको र यस विषयमा थप छलफलहरू अगाडि बढ्ने उनले जानकारी दिए। यो विषय सम्बन्धित ठाउँहरूमा नै छलफल भएर अगाडि बढ्ने उनको भनाइ थियो।
उक्त विषयबारे पार्टीमा निरन्तर छलफल भइरहेको उनले जिकिर गरे। साथै संसद् सञ्चालनका विषयमा विपक्षी दलहरूसँग पनि छलफल भइरहेको उनले बताए। सदन सुचारु गर्ने र सो विषयमा तत्कालीन अवस्थामा सरकारको तर्फबाट कुराहरू आउने गरी छलफल चलाइएको उनले जानकारी दिए।
महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाइ हुने भएकाले विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध पार्न नहुनेमा जोड दिए।
