दक्षिण अफ्रिका र ब्राजिलका दूतावास बन्द गर्ने निर्णयप्रति आपत्ति
काठमाडौँ। सरकारले बजेट मन्तव्यमार्फत दक्षिण अफ्रिका र ब्राजिलमा रहेका नेपाली दूतावासहरू बन्द गर्ने घोषणा गरेको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिक्मत थापाले दुःख व्यक्त गरेका छन्।
नाइजेरियाको लेगोसबाट प्रेस नोट जारी गर्दै थापाले सरकारको यो निर्णयमाथि पुनःविचार गर्न माग गरेका हुन्। ती दूतावासहरूलाई ‘दक्षिण–दक्षिण’ व्यापार, लगानी र आर्थिक अवसर सिर्जना गर्ने आधार बनाउन सके नेपालको आर्थिक समृद्धिलाई ठूलो टेवा पुग्ने थापाले उल्लेख गरेका छन्।
दूतावासहरू केवल खर्च हुने केन्द्र मात्र नभएर आम्दानी र अवसर भित्र्याउने माध्यम बन्न सक्ने उनको भनाइ छ। अबको समयमा नेपाली नियोगहरूले आर्थिक कूटनीतिमा बढी केन्द्रित हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
दक्षिण अफ्रिका र ब्राजिल तीव्र गतिमा आर्थिक समृद्धि हासिल गरिरहेका देश हुन्। यी मुलुकहरू क्रमशः अफ्रिका र दक्षिण अमेरिका महादेशका प्रमुख आर्थिक केन्द्र समेत हुन्। ती क्षेत्रमा नेपाली डायस्पोराको सङ्ख्या बढ्दो क्रममा रहेको र उनीहरू स्थापित हुने क्रममा रहेको प्रेस नोटमा उल्लेख छ।
त्यहाँ रहेका नेपालीका समस्या अझै पनि नेपाल सरकारको पहुँचभन्दा बाहिर रहेको अवस्थामा गैरआवासीय नेपालीहरूले राज्यको उपस्थितिको खाँचो महसुस गरिरहेका छन्। नेपालीहरूले थप कूटनीतिक उपस्थितिको माग गरिरहेका बेला भइरहेका दूतावास समेत बन्द गरिनु झनै दुःखद भएको थापाले बताए।
ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासहरूलाई नेपालको ‘दक्षिण-दक्षिण’ सम्बन्ध, नयाँ विश्वशक्तिका रूपमा उदाउँदै गरेको ब्रिक्स सङ्गठनसँगको सहकार्य, दोहोरो व्यापार, प्रविधि र लगानीका बृहत् सम्भावनाहरू तर्फ केन्द्रित गर्न सकिने थापाले प्रस्ट पारे। यी सम्भावनाहरूलाई ध्यानमा राख्दै सरकारले आफ्नो निर्णयमाथि पुनःविचार गरी अगाडि बढ्ने अपेक्षा उनले राखेका छन्।
