वर्दीभित्रको समर्पण र उपेक्षित सेवा-सुविधा

प्रहरीको काँधमा केवल वर्दीको भार हुँदैन, त्यससँगै समाजको सुरक्षा, नागरिकको भरोसा र राष्ट्रको जिम्मेवारी पनि जोडिएको हुन्छ। उनीहरू आफ्नो ज्यानको पर्वाह नगरी २४ सै घण्टा अग्रपङ्क्तिमा खटिरहेका हुन्छन्।

अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम राख्ने मात्र नभई सडक दुर्घटना, प्राकृतिक विपद् वा जुनसुकै संकटको अवस्थामा नागरिकले सबैभन्दा पहिले प्रहरीलाई नै सम्झन्छन् र त्यहाँ प्रहरी नै उद्धारमा उभिएको हुन्छ।

राज्य संयन्त्रका अन्य निजामती कर्मचारीको कार्यसमय र जिम्मेवारीभन्दा सुरक्षाकर्मीको कार्यप्रकृति निकै जटिल हुन्छ। निजामती कर्मचारीको तलब वृद्धि र सेवा-सुविधाको पुनरावलोकन हुनुपर्छ, यो आवश्यक र जायज कुरा हो। तर आफ्नो ज्यान हत्केलामा राखेर जोखिमपूर्ण परिस्थितिमा खटिने प्रहरीको सेवा र त्यागलाई सामान्य सेवासँग तुलना गर्नु न्यायपूर्ण हुँदैन।

उनीहरूको कार्यक्षेत्र, कार्यघण्टा, मानसिक दबाब, लामो समयसम्मको पारिवारिक दूरी र दैनिक रूपमा आइपर्ने जोखिमपूर्ण सुरक्षा चुनौती अन्य सेवाभन्दा पूर्ण रूपमा फरक प्रकृतिको हुन्छ। चाडपर्व, उत्सव वा पारिवारिक सुख त्यागेर अहोरात्र खटिने प्रहरीको मनोबल उच्च राख्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ।

विडम्बना, समाज र प्रविधिको विकाससँगै प्रहरीको जिम्मेवारी दिनदिनै बढिरहेको छ तर उनीहरूले पाउने सेवा, सुविधा, रासन र न्यूनतम भौतिक पूर्वाधारको अवस्था अझै पनि दयनीय छ। ज्यानभन्दा ठूलो जिम्मेवारी बोक्नेहरूको मूल्याङ्कन र प्रोत्साहन पनि त्यही अनुसार हुनुपर्छ।

राष्ट्रको सुरक्षाका लागि आफ्नो व्यक्तिगत सुख, अमूल्य समय र कहिलेकाहीँ जीवनसमेत समर्पण गर्नेहरूको योगदानलाई केवल औपचारिकता वा प्रशंसामा मात्र सीमित राखिनु हुँदैन। उनीहरूको यो निःस्वार्थ त्यागलाई राज्यको व्यवहारिक नीति, समयानुकूल तलब भत्ता, परिवारको सामाजिक सुरक्षा र वृत्तिविकासमा पनि स्पष्ट रूपमा देखिनुपर्छ।

देश सुरक्षित हुनुको पछाडि यी वीर सुरक्षाकर्मीहरूको ठूलो त्याग लुकेको हुन्छ र त्यो त्याग गर्ने सामर्थ्य नेपाल प्रहरीसँग मात्र हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *