देशका धेरै ठाउँमा पानी पर्ने
काठमाडौँ। मौसमविद्हरूले आगामी शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन्। पानी पर्ने क्रम बिहीबार बेलुकादेखि नै सुरु भई शुक्रबार राति तुलनात्मक रूपमा बढी हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शुक्रबार बिहान र दिउँसोको समयभन्दा राति बढी पानी पर्ने सम्भावना रहेको बताए। शुक्रबार सातै प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुने आजसम्मको मौसमी प्रणालीले देखाएको उनले जानकारी दिए।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले बादल बढ्ने र मेघगर्जन तथा चट्याङसहित पानी पर्ने अनुमान गरिएको हो। यसकै प्रभावले बुधबार र बिहीबार पनि केही जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना छ।
अहिले तातो हावाको लहर (लू) चलिरहेको पश्चिम तराईका क्षेत्रमा समेत शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने विश्वास गरिएको छ। तर, आज बुधबार भने पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायमै रहने र पूर्वी तथा मध्य भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।
केही मौसमविद्हरूले भने शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरेका छन्। मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकादेखि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा भारी वर्षा हुनसक्ने सामाजिक सञ्जालमा लेखेका छन्। अर्का मौसमविद् डा. धर्मराज उप्रेतीले पनि शुक्रबार कुनै-कुनै ठाउँमा भारी वर्षा हुँदा बाढीको जोखिम हुनसक्ने औँल्याए।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने भारी वर्षाको सम्भावनाबारे अहिले नै ठोस पुष्टि गरेको छैन। मौसमविद् लामिछानेले अहिलेसम्म हल्कादेखि मध्यम वर्षाकै सम्भावना देखिएको र भारी वर्षाको सूचना जारी नगरिएको प्रस्ट पारे।
