गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। सधैँ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थापित परम्परालाई तोड्दै प्रधानमन्त्री बालेनले यस पटक आफू अनुकूलको नयाँ अभ्यास सुरु गर्न लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई नै सो समारोहमा सम्बोधन गर्न सिफारिस गरेको छ। कार्यालय स्रोतका अनुसार राष्ट्रपतिलाई पठाइएको पत्रमा ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ’ भन्ने वाक्यांश उल्लेख छ।

संविधानको धारा ६६ को उपधारा (२) मा राष्ट्रपतिका कार्यहरू मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने र त्यस्तो सिफारिस प्रधानमन्त्रीमार्फत पेस हुने व्यवस्था छ। संविधानमै यस्तो उल्लेख भए पनि यस पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रमार्फत यो सिफारिस पठाएको हो।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेनकै नेतृत्वमा ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ। समितिको बैठकले कार्यक्रम सञ्चालनको विषयमा जिल्ला जिल्लामा र सम्बन्धित निकायमा पत्राचार गरिसकेको गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

यसअघिका वर्षहरूमा टुँडिखेलको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपति प्रमुख अतिथिका रूपमा उपस्थित मात्र हुने परम्परा थियो। तर, प्रधानमन्त्री बालेनले आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई अघि सारेपछि राष्ट्रपति पौडेल भने असन्तुष्ट बनेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयले सम्बोधनका लागि सिफारिस गरिएको पत्र प्राप्त भएको पुष्टि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *