देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न यस्तो आदेश दिएको हो। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।

देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। तर देउवाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन्।

काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पूर्जी जारी भएको जिकिर रिटमा गरिएको छ। उनले अनुसन्धानमा सहयोग गर्न मञ्जुर रहेको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने कुनै अवस्था नरहेको दाबी गरेका छन्।

देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए र उनीहरू अझै काठमाडौँ फर्किएका छैनन्। उनीहरू विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको भए पनि इन्टरपोलले अहिलेसम्म रेड कर्नर नोटिस भने जारी गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *