बालेनको युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत !
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १३ लाख सब्सक्राइबर भएको युट्युब च्यानलमा एकाएक एउटा गीत झुल्कियो- ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ ।
गणतन्त्र नेपालका बहालवाला प्रधानमन्त्रीको आधिकारिक च्यानलमै राजतन्त्रको वकालत गर्ने गीत देखिएपछि सामाजिक सञ्जाल तातिएको छ । कतिपयले प्रधानमन्त्रीको च्यानल ह्याक भएको अनुमान गरे भने कतिपयले बालेनको राजनीतिक यू-टर्न भन्दै टिप्पणी समेत गर्न भ्याए ।
गत २० फेब्रुअरीमा अपलोड भएको यो एआई भर्सनको गीतलाई अहिलेसम्म ४ हजार ५ सयभन्दा बढीले हेरिसकेका छन् । तर, वास्तविकता न त च्यानल ह्याक भएको हो, न त प्रधानमन्त्री बालेनले पूर्वराजा ज्ञानेन्द्रको भजन नै गाएका हुन् । यो त केवल युट्युबको एउटा प्राविधिक अल्झो मात्र हो ।
राजनीतिमा आउनुअघि बालेन स्थापित र्यापर र सङ्गीतकार हुन् । त्यसैले युट्युबले उनको च्यानललाई ‘अफिसियल आर्टिस्ट च्यानल’ को मान्यता दिएको छ । युट्युबले सन् २०२४ देखि यस्ता आर्टिस्ट च्यानलहरूका लागि ‘रिलिजेज’ नामक एउटा विशेष फिचर ल्याएको छ, जुन नेपालमा हालै मात्र सक्रिय देखिएको हो ।
यो फिचरअनुसार संसारभरका कुनै पनि डिजिटल म्युजिक डिस्ट्रिब्युटर ट्युनकोर वा डिस्ट्रोकिड मार्फत नयाँ गीत बजारमा पठाउँदा यदि कसैले ‘बालेन’ लाई क्रेडिट वा मेन्सन गरिदियो भने युट्युबको सिस्टमले त्यसलाई स्वचालित रूपमा तानेर बालेनकै च्यानलको ‘रिलिजेज’ ट्याबमा हालिदिन्छ । यो प्रणाली स्पोटिफाई वा एप्पल म्युजिक जस्तै सिधै सिंक हुने प्रविधि हो ।
कुनै सर्वसाधारणले सामान्य भिडिओ हालेर वा ह्याशट्याग राखेर मात्र यो ट्याबमा भिडिओ बस्दैन । तर, एआई गीत बनाउनेहरूले बालेनको नाम जोडेर बजारमा डिजिटल अडियो पठाउनासाथ युट्युबको रोबोटिक प्रणाली झुक्कियो र सोझै प्रधानमन्त्रीको च्यानलमा बुझाउने काम गर्यो ।
यही प्राविधिक फन्दाका कारण पूर्वराजाको मात्र होइन, बालेनसँग असम्बन्धित ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा बतास चल्यो’, ‘बाइरोडमा ड्राइभर’ र ‘अबकी बार बालेन सरकार’ जस्ता थुप्रै एआई गीतहरू उनको च्यानलमा आफैँ ओइरिएका हुन् ।
