द्वन्द्व : चेतनाको असन्तुलन र समाधानको मार्ग

द्वन्द्व विविधतायुक्त मानव समाजको अपरिहार्य यथार्थ मात्र होइन, मानव चेतनाको असन्तुलनको अभिव्यक्ति पनि हो। सामान्यतया यसलाई व्यक्ति, समूह वा संस्थाबीच विचार, हित, उद्देश्य वा स्रोत–साधनसम्बन्धी विषयमा उत्पन्न हुने मतभेदका रूपमा बुझिन्छ। तर द्वन्द्वको वास्तविक स्वरूप यतिमै सीमित छैन। बाह्य रूपमा देखिने प्रत्येक संघर्षको आरम्भ मानव चेतनाको अन्तरमनबाटै हुन्छ। त्यसैले द्वन्द्वलाई केवल सामाजिक, राजनीतिक वा कानुनी समस्याका रूपमा होइन, चेतनाको असन्तुलनको अभिव्यक्तिका रूपमा पनि बुझ्न आवश्यक छ।
चेतना आफ्नो स्वाभाविक सन्तुलनबाट विचलित हुन थालेपछि द्वन्द्वको बीज रोपिन्छ। यही चेतनागत असन्तुलनको प्रारम्भिक अवस्थालाई ‘व्यविचार’ भनिन्छ। व्यविचार भन्नाले विचार, विवेक, मूल्य र आचरणबीचको सन्तुलन भङ्ग भई चेतना सत्य, न्याय र नैतिकताको मार्गबाट क्रमशः विमुख हुँदै जाने अवस्थालाई जनाउँछ। यही व्यविचारले मर्यादा र सीमाको अतिक्रमण गर्दै अतिचारको रूप लिन्छ। अतिचारले शक्ति र अधिकारको दुरुपयोगमार्फत अत्याचारलाई जन्म दिन्छ, र अन्ततः यही प्रवृत्ति संस्थागत भएपछि भ्रष्टाचारका रूपमा विकसित हुन्छ। यसरी द्वन्द्व कुनै एक घटनाको परिणाम मात्र होइन; यो चेतनाको क्रमिक अवनतिको बाह्य अभिव्यक्ति पनि हो।
व्यक्तिभित्र उत्पन्न भएको असन्तुलन अन्ततः परिवार, समाज र राज्यमा प्रतिबिम्बित हुन्छ। जब विवेकभन्दा स्वार्थ, संवादभन्दा अहङ्कार र न्यायभन्दा प्रभावलाई प्राथमिकता दिइन्छ, तब विश्वास कमजोर बन्छ। विश्वास कमजोर भएपछि सहकार्यको स्थान अविश्वासले लिन्छ, र अविश्वासले द्वन्द्वलाई अझ जटिल बनाउँदै लैजान्छ। त्यसैले स्थायी शान्तिको खोज बाह्य संरचनाबाट मात्र होइन, आन्तरिक चेतनाबाट प्रारम्भ हुनुपर्छ।
राजआध्यात्मिक दृष्टिमा मानव जीवन स्वयंमा एउटा सूक्ष्म राज्य हो। यस राज्यको केन्द्र चेतना हो, विवेक यसको मार्गदर्शक शक्ति हो, बुद्धि निर्णयको आधार हो, मन सञ्चालनको माध्यम हो र इन्द्रियहरू कार्यान्वयनका साधन हुन्। जब विवेक जागृत रहन्छ, यी सबै पक्ष सन्तुलित रूपमा सञ्चालन हुन्छन्। तर विवेक कमजोर हुँदा मन आवेगको अधीनमा जान्छ, बुद्धि पक्षपाती बन्छ र कर्म असन्तुलित हुन्छ। यही आन्तरिक अव्यवस्थाले अन्ततः सामाजिक र संस्थागत द्वन्द्वको रूप धारण गर्छ।
यसैले द्वन्द्वको समाधान केवल कानुनी नियन्त्रण, दण्ड वा अस्थायी सम्झौतामा सीमित रहन सक्दैन। यस्ता उपाय आवश्यक भए पनि तिनले प्रायः परिणामलाई सम्बोधन गर्छन्, कारणलाई होइन। यदि द्वन्द्वको मूल कारण चेतनामा छ भने यसको स्थायी समाधान पनि चेतनाको रूपान्तरणबाटै प्रारम्भ हुन्छ।
द्वन्द्व समाधानको पहिलो आधार आत्मबोध हो। आत्मबोध भन्नाले आफ्ना विचार, भावना, अभिप्राय र आचरणलाई इमानदारीपूर्वक अवलोकन गर्ने क्षमता हो। जब व्यक्तिले आफ्ना अहङ्कार, लोभ, भय, असुरक्षा र पूर्वाग्रहलाई पहिचान गर्न थाल्छ, तब उसले द्वन्द्वको कारण पहिला अरूमा होइन, आफूमै खोज्न सिक्छ।यही आत्मजागरूकताले प्रतिक्रियाभन्दा जिम्मेवारीलाई महत्त्व दिन सिकाउँछ।
दोस्रो आधार सत्यनिष्ठा हो। सत्यनिष्ठा केवल सत्य बोल्ने गुण मात्र होइन; सत्यअनुसार सोच्ने, निर्णय गर्ने र व्यवहार गर्ने आन्तरिक प्रतिबद्धता पनि हो। जहाँ सत्यनिष्ठा हुन्छ, त्यहाँ विश्वास निर्माण हुन्छ। जहाँ विश्वास हुन्छ, त्यहाँ संवाद सम्भव हुन्छ। संवाद जीवित रहँदासम्म मतभेद विनाशकारी द्वन्द्वमा रूपान्तरित हुँदैन। त्यसैले संवाद केवल विचार आदानप्रदानको माध्यम होइन; सहअस्तित्वको संस्कार पनि हो।
तेस्रो आधार करुणा हो। करुणाले अर्को व्यक्तिको गरिमा, संवेदना र अस्तित्वलाई स्वीकार गर्न सिकाउँछ। यही स्वीकारभावले संवादलाई सार्थक बनाउँछ र मतभेदलाई समझदारीमा रूपान्तरण गर्ने आधार तयार गर्छ। मतभेद हुनु स्वाभाविक हो, तर संवादको अभावले नै मतभेदलाई वैमनस्यमा परिणत गर्छ। त्यसैले करुणा र संवाद दुवै दिगो शान्तिका अपरिहार्य आधार हुन्। त्यसैले संवाद केवल सहमतिमा पुग्ने प्रक्रिया मात्र होइन; असहमतिलाई पनि सम्मानपूर्वक व्यवस्थापन गर्ने सभ्य संस्कार हो।
चौथो आधार धर्मनिष्ठ आचरण हो। यहाँ धर्म भन्नाले कुनै सम्प्रदाय वा धार्मिक पहिचान होइन; सत्य, न्याय, मर्यादा, उत्तरदायित्व र लोककल्याणप्रतिको निष्ठालाई बुझिन्छ। जब व्यक्ति, समाज र राज्यले यिनै आधारमा निर्णय गर्न थाल्छन्, तब शक्ति नियन्त्रणको साधन नभई संरक्षण र सेवाको माध्यम बन्छ। जहाँ धर्मनिष्ठ आचरण सुदृढ हुन्छ, त्यहाँ द्वन्द्व समाधानको संस्कृति विस्तार हुँदै जान्छ।
अन्ततः द्वन्द्वलाई पूर्ण रूपमा समाप्त गर्न सकिँदैन, किनकि विविध विचार, आवश्यकता र दृष्टिकोण भएको समाजमा मतभेद स्वाभाविक हुन्छ। तर द्वन्द्वलाई विनाशको कारण बनाउने वा विकासको अवसरमा रूपान्तरण गर्ने कुरा मानव चेतनामै निर्भर हुन्छ। जागृत विवेक, सन्तुलित आचरण, न्यायपूर्ण संस्था र उत्तरदायी नेतृत्वले द्वन्द्वलाई टकरावबाट सहकार्यतर्फ रूपान्तरित गर्न सक्छ।
शान्ति बाह्य रूपमा आरोपित अवस्था होइन; यो जागृत चेतना, नैतिक अनुशासन र उत्तरदायी आचरणबाट विकसित हुने सामाजिक संस्कार हो। जब व्यक्तिले आफ्ना विचार, विवेक र कर्मलाई सन्तुलित बनाउँछ, समाजमा विश्वास बलियो हुन्छ। विश्वास बलियो भएको समाजमा मतभेद रहन सक्छन्, तर ती विनाशकारी द्वन्द्वमा रूपान्तरित हुँदैनन्। त्यसैले द्वन्द्वको स्थायी समाधान बाह्य नियन्त्रणभन्दा बढी आन्तरिक रूपान्तरणमा निहित छ। यही राजआध्यात्मिक दृष्टिले मानव, समाज र राज्यलाई न्याय, सहअस्तित्व र दिगो शान्तितर्फ उन्मुख गराउँछ।
जय अघोर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *