समता इटहरीमा नयाँलाई स्वागत, एसईई उत्तीर्णलाई बिदाइ
इटहरी। इटहरीस्थित समता स्कुलले शैक्षिक सत्र २०८३ का नयाँ विद्यार्थीहरूको स्वागत तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ उत्तीर्ण गरेका विद्यार्थीहरूको बिदाइ गरेको छ। त्यस अवसरमा विद्यार्थीहरूको आकर्षक गायन तथा नृत्य प्रस्तुति पनि आयोजना गरिएको थियो।
कार्यक्रममा यसै शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीसँगै नवनियुक्त शिक्षकहरूलाई पनि स्वागत गरिएको थियो। त्यसैगरी, गत वर्षसम्म विद्यालयमा अध्यापन गराई बिदाइ भएका शिक्षकहरूलाई मायाको चिनोसहित सम्मानपूर्वक बिदाइ गरिएको थियो।
पूर्व विद्यार्थी तथा बिदाइ भएकी शिक्षिका प्रनिशा श्रेष्ठले आफू कक्षा ४ देखि समतामै पढेर २०७५ सालमा एसईई उत्तीर्ण गरेको स्मरण गरिन्। उनले २०७८ देखि २०८२ चैतसम्म यही विद्यालयमा अध्यापन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थी र शिक्षिका दुवै रूपमा समतासँग जोडिन पाउनु गौरवको कुरा भएको बताइन्।

बिदाइ मन्तव्यका क्रममा नर्सरीदेखि कक्षा १० सम्म समतामै अध्ययन गरेकी छात्रा मेलिना फुयालले भावुक हुँदै विद्यालयप्रतिको आफ्नो भावना व्यक्त गरिन्। उनले हाम्रो विद्यालयलाई मानिसहरूले सस्तोमा के नै गतिलो हुन्छ र भन्ने गरेको स्मरण गर्दै एसईईको उत्कृष्ट नतिजाले त्यस्तो धारणालाई गलत साबित गरिदिएको बताइन्। समता आफ्नो दोस्रो घर रहेको भन्दै उनले यहाँको विद्यार्थी हुन पाएकोमा सदैव गर्व लाग्ने उल्लेख गरिन्।
अभिभावकका तर्फबाट युनिक आचार्यका बुबाले आफ्ना दुई छोराहरूले समताबाटै एसईई उत्तीर्ण गरेको जानकारी दिँदै विद्यालयले सुलभ शुल्कमै अब्बल पठनपाठन गराएकोमा सन्तुष्टि व्यक्त गरे।
त्यस्तै, अर्की छात्रा बिदि श्रेष्ठका बुबाले आफ्नी छोरीलाई नर्सरीदेखि कक्षा १० सम्म समतामा अध्ययन गराउन पाएकोमा गर्व लागेको भन्दै विद्यालयले पछिल्लो समयमा गरेका कामहरूको खुलेरै प्रशंसा गरे।

यसै अवसरमा वैशाख १७ गते सम्पन्न विद्यार्थी परिषद् निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। निर्वाचित विद्यार्थी नेतृत्वले विद्यालयको अनुशासन र विद्यार्थी हकहितका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए।
विद्यालयका प्रिन्सिपल सन्तोष श्रेष्ठले नयाँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको मुख्य उद्देश्य र प्रतिबद्धता कहिल्यै नडगमगाउने दोहोर्याए।
उनले विद्यालयप्रति अभिभावकहरूले देखाएको अगाध विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आपसी सहकार्यमार्फत विद्यालयलाई अझ सुदृढ र अब्बल बनाउँदै लैजाने संकल्प व्यक्त गरे। उक्त समरोहमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको बाक्लो उपस्थिति थियो।
