कुशलको सानदार शतक : नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौँ। ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको छ। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे। कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको जितको बलियो आधार खडा गरेका थिए। आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए भने इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे। अमेरिकाका तर्फबाट बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। शेहान ५२ बलमा ५० रन बनाएर आउट भए। उक्त शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए।

एक समय १२२ रन जोड्दा मात्र एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो। नेपाली बलरहरू हाबी भएपछि अमेरिकी ब्याटरले अर्को ठूलो साझेदारी बनाउन सकेनन्।

अमेरिकाका मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १ र हर्मित सिंह १४ रनमा आउट भए। त्यस्तै मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमै पेभिलियन फर्किए भने शौरभ नेत्रभाल्कर शून्य रनमा अविजित रहे।

बलिङतर्फ नेपालका उपकप्तान दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक-एक विकेट चट्काए। नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *