कक्षा १ मा भर्ना भएका ५६ प्रतिशत विद्यार्थी १० कक्षा नपुग्दै गायब

काठमाडौँ। कक्षा १ मा भर्ना भएका विद्यार्थी १० कक्षासम्म पुग्दा ४४ प्रतिशतले मात्र अध्ययनलाई निरन्तरता दिने गरेको पाइएको छ। शिक्षा मन्त्रालयको फ्लास रिपोर्टअनुसार २०७३ सालमा कक्षा १ मा भर्ना भएका ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थीमध्ये ५६ प्रतिशत गायब हुने गरेको पाइएको हो।

सरकारले विद्यालय शिक्षामा बर्षेनि एक खर्ब ५० अर्ब रूपैयाँ लगानी गरे पनि १० वर्षको दौरानमा यतिधेरै विद्यार्थी कहाँ गए भन्ने विषय खोजविनको घेरामा परेको छ।

शिक्षा मन्त्रालयका अनुसार २०७३ सालमा देशभरका विद्यालयमा कक्षा १ मा ९ लाख ७३ हजार ६ सय ९५ विद्यार्थी भर्ना भएका थिए। २०८२ सालमा आइपुग्दा कक्षा १० मा पुग्ने विद्यार्थीको संख्या ४ लाख ६४ हजार मात्र छ। त्यसमा पनि यसपटक एसईई दिने विद्यार्थीको संख्या भने ४ लाख ३० हजार ६ सय ६७ मात्र थियो।

यो हिसाबले ४४ प्रतिशत विद्यार्थीले मात्र अध्ययनलाई निरन्तरता दिँदै एसईईमा सामेल भएका थिए। बाँकी ५ लाख ४२ हजार ९ सय ३४ जना अर्थात् ५६ प्रतिशत विद्यार्थी बिचमै अध्ययन छोडेर कहाँ हराए भन्ने प्रश्न उठेको छ। सरकारले कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा नि:शुल्क तथा अनिवार्य र कक्षा ९ देखि १२ माध्यामिक शिक्षा नि:शुल्क गर्ने व्यवस्था गरेको छ।

सरकारले विद्यार्थी टिकाउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजालगायत कार्यक्रममा ठूलो रकम खर्च गरिरहेको छ। नि:शुल्क शिक्षादेखि विभिन्न सुविधा उपलब्ध गराए पनि बिचैमा कक्षा छाड्ने दर भने बढ्दो छ। गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएकै कारण धेरैजसो बालबालिका बीचमै कक्षा छोड्ने गरेको पाइन्छ।

त्यसैगरी अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पनि बालबालिकाले अध्ययन पूरा गर्न पाउँदैनन्। कतिपय विद्यालयले सरकारी अनुदान र आर्थिक प्रलोभनमा धेरै विद्यार्थीको संख्या देखाउँदा १० वर्षको दौरानमा उनीहरूमध्ये कतिपय तथ्यांकबाट गायब भएको हुनसक्ने शिक्षक र शिक्षाका अधिकारीहरू बताउँछन्।

सरकारले विद्यालय शिक्षाका लागि बर्षेनि १ खर्ब ५० अर्बको हाराहारीमा बजेट विनियोजना गर्दै आएको छ। हालै प्रकाशित एसईईको नतिजा अनुसार सामुदायिक विद्यालयका २ लाख ८९ हजार विद्यार्थीमध्ये १ लाख ६१ हजार अर्थात् ५५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

कक्षा १ मा भर्ना भएकामध्ये १० वर्षको दौरानमा साढे ५ लाख विद्यार्थी हराउनुले सरकारको लगानी दुरूपयोग भइरहेकाले यसबारे गम्भीर अध्ययन हुनुपर्ने स्वयं शिक्षाका अधिकारीहरु बताउँछन्। यो तथ्यांकले बर्षेनि देशभरका विद्यालयहरूबाट ५४ हजार विद्यार्थी हराइरहेको देखाउँछ। यति ठूलो संख्यामा बालबालिकाले विद्यालय छाड्नु गम्भीर चिन्ताको विषय हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *