असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै आगामी असार १ गतेबाट कक्षा ११ को भर्ना अभियान सुरु हुने भएको छ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरेपछि भर्ना प्रक्रिया पनि चाँडै खुल्ने भएको हो।
कतिपय विद्यालयले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। उता काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिको लागि अनलाइन फाराम खुला गरिसकेको छ। तर, अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा अझै सकिएको छैन। एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने अवस्थाले विद्यार्थी र अभिभावकहरू भने केही अन्योलमा परेका छन्।
पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकिँदै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न उठेको छ। कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्योल यसपटक भने नहुने सरोकारवालाहरूले दाबी गरेका छन्।
शिक्षा मन्त्रालयले यस विषयमा आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्याएको र केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार मन्त्रालयले शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन यो योजना अघि सारेको हो।
असार १ गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको र यसको औपचारिक निर्णय केही दिनमै हुने अधिकारीले बताए।
