सांसद साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए।

सांसद साम्पाङले प्रधानमन्त्री शाहले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको गम्भीर आरोप लगाएका छन्। नीति तथा कार्यक्रमको समयमा अनुपस्थित रहेको, महत्वपूर्ण छलफलमा सहभागी नभएको र संसदीय मर्यादा कायम राख्न नसकेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङले दाबी गरे।

विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’ को संज्ञा दिँदै प्रश्न गरेका छन्, “आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?”

प्रधानमन्त्रीले आफ्नो न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ। “कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *