विराटनगरको रानी नाकामा उच्च सतर्कता, परिचयपत्र अनिवार्य
विराटनगर। भारतको पश्चिम बंगालमा भएको राजनीतिक परिवर्तनसँगै मोरङको विराटनगरस्थित रानी नाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
पश्चिम बंगालमा १५ वर्षदेखि मुख्यमन्त्री रहेकी ममता बनर्जीको शासन अन्त्य भई भारतीय जनता पार्टीका शुभेन्दु अधिकारी नयाँ मुख्यमन्त्री बनेपछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै नेपाल प्रवेशमा कडाइ गरिएको हो ।
कट्टर हिन्दुवादी नेता अधिकारी सत्तामा आएपछि पश्चिम बंगालका विभिन्न शिविरमा बसिरहेका रोहिंग्या शरणार्थीहरू नेपालतर्फ आउन सक्ने आशंकामा स्थानीय प्रशासनले नाकामा उच्च सतर्कता अपनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेका अनुसार रोहिंग्या शरणार्थीहरूको अवैध प्रवेश रोक्न सीमा क्षेत्रका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिइएको छ र नेपाल प्रवेश गर्ने जोकोहीका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
नाकामा खटिएका सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले नेपाल आउने व्यक्तिहरूको परिचयपत्र जाँच गर्नुका साथै उनीहरू आउनुको उद्देश्यबारे समेत सोधपुछ गरिरहेका छन् ।
सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त कुकुरहरूसमेत परिचालन गरिएको छ । कोलकाताबाट जोगवनीसम्म चल्ने रेल र सडक मार्ग हुँदै शरणार्थीहरू छिर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोगवनी-रानी नाकामा विशेष निगरानी बढाइएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सीमामा हुने अवैध घुसपैठ र अवाञ्छित गतिविधि नियन्त्रण गर्न जिल्लाका सबै नाकामा परिचयपत्र अनिवार्य गरिएको बताए ।
काँकडभिट्टा नाकामा पहिल्यैदेखि परिचयपत्रको व्यवस्था भए पनि अहिले विराटनगरको रानी नाकामा यसलाई कडाइका साथ लागू गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले समेत भारतसँग सीमा जोडिएका सबै जिल्लामा उच्च सतर्कता अपनाउन यसअघि नै सर्कुलर जारी गरेको थियो ।
