एसईई: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, गत वर्षभन्दा सुधार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको नतिजामा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार आएको छ।
शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपालि ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले मात्र सफलता प्राप्त गरेका थिए।
सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा निकाल्ने लक्ष्य राखेकोमा परीक्षा नियन्त्रण कार्यालयले २९औँ दिनमै नतिजा प्रकाशन गर्न सफल भएको हो। छिटो नतिजाका लागि यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो।
चैत २९ गते सम्पन्न भएको एसईईमा देशभरका १ हजार ९ सय ६६ केन्द्रबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी रहेका छन्।
यसपटक जापानको एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थीले परीक्षा दिएका थिए। नतिजा सार्वजनिक भएसँगै विद्यार्थीले बोर्डको आधिकारिक वेबसाइट र एसएमएसमार्फत आफ्नो मार्कसिट हेर्न सक्नेछन्।
