धरानमा युवाको हत्या, आक्रमणकारी खोज्दै प्रहरी
सांकेतिक तस्बिर
विराटनगर। सुनसरीको धरानमा आइतबार दिउँसो छुरा प्रहार गरी एक जना युवकको हत्या गरिएको छ । धरान उपमहानगरपालिका-१० बेलगाछी लाइनका २७ वर्षीय जीवन भुजेलको हत्या भएको हो ।
स्थानीय युवासँग आपसी विवाद हुँदा भुजेलमाथि दिउँसो १:४५ बजेतिर छुरा प्रहार भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । छुरा प्रहारबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि सुरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएकामा चिकित्सकले दिउँसो ४:३५ बजेतिर मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिए ।
घटनामा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ । भुजेललाई धरान-१९ का अन्दाजी २८ वर्षीय ‘जीमी’ भनिने अर्जुन विश्वकर्माले छुरा प्रहार गरेको खुलेको छ ।
हत्यामा संलग्न आरोपी फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । उनीहरूबीच के विषयलाई लिएर विवाद भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
