‘राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको सहयोग हुन्छ’

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् ।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए ।

राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी त्यो पार्टी कहिल्यै नभनेको स्पष्ट पार्दै सभापति थापाले वर्तमान सरकारलाई पनि सोहीअनुसार सहयोग हुने, तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताए ।

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । ‘हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको थियो । हामीसँग सङ्ख्या र आधार पनि थिए, तर पनि महाअभियोगको विपक्षमा उभियौँ,’ सभापति थापाको भनाइ थियो ।

उनले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आआफ्नो जिम्मेवारीअनुसार सङ्गठनको काममा लाग्न निर्देशन दिए । सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे ।

पार्टीका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो,’अब कांग्रेसले नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको छ । अब पार्टी मात्र होइन, समाजलगायत सबैलाई सम्हालेर साझा सङ्गठन बनाउने जिम्मेवारी आएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *