अधुरो ‘होमवर्क’
प्रभातका धर्साले
अक्षरहरू नकोरल्दै आज
छाना र पर्खालहरू बेस्सरी काँपे
र झरे धर्तीमा
धुलो र डर उड्यो आकाशतिर
अनुत्तरित प्रश्नका बेगले
नीरव बस्तीलाई छाडेर ।
०००
पसाङ्गिएको ढोका जोडले ठेलेर
ऊ निस्की—
अधुरो वाक्यको पन्ना च्यापेर
साथैमा आधा खुलेको ‘स्कुले झोला’
अनि मनभरिका सपनाहरू
लामो जीवनमा आज
एउटा अल्प-विराम लाग्दै थियो
अर्थात् ‘ड्रिम टु डस्ट’ ।
०००
उसका आँखाहरू डुलिरहे
गुजुल्टिएका कापीका पन्ना
र भत्किएका भित्तातिर
धुलिँदै उडेका सपनाहरूतिर
काँपिरहेका अवशेषहरूतिर
सायद ऊ अपूरो वाक्यमा
शब्द खोज्दै थिई
‘भविष्य’ शीर्षकमा निबन्ध लेख्न ।
०००
सरोबर झैँ टिलपिलाएका
आमाका आँखाहरू
जरा उखेलिएका वृक्ष झैँ
लरखरिएका बुबाका खुट्टाहरूमा
बाँकी छन् उसका भरोसा र विश्वास
झोलाभरिका किताब
र लेखिँदै गरेको अधुरो वाक्य
उसका निरीह आँखाहरू
सोध्न चाहन्छन् – उन्मत्त बुल्डोजरलाई
के उठाउनेछ समयले फेरि
भत्किएको पर्खाल र छानाहरू ?
०००
अनुत्तरित प्रश्नको भारले
च्यातिएको एउटा पन्ना
धुलोसँगै आकाशतिर विलीन हुँदैछ
अनि उतै उडे लेखिँदै गरेका
आधा वाक्यहरू
र अपूरा चित्रहरू
अर्थात् एउटा अधुरो ‘होमवर्क’
अनि पाइलाहरू घिस्रिँदैछन्
अलिखित र अनिश्चित गन्तव्यतर्फ ।
