विराटनगर जेसीजद्वारा अटिजम सचेतना कार्यक्रम
विराटनगर । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न गरेको छ। विराटनगर-४ स्थित दुधफारममा रहेको महानगर अटिजम सेवा केन्द्रमा आयोजित उक्त कार्यक्रममा अटिजम भएका व्यक्तिहरूको अधिकार र सामाजिक सम्मानका विषयमा सचेतना जगाइएको छ।
अटिजम भएका व्यक्तिहरूले पनि समाजमा स्वतन्त्र र सम्मानजनक जीवन जिउन पाउनुपर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालले अटिजमका बारेमा समाजमा सही बुझाइ विस्तार गर्न र उनीहरूलाई समाजमा पुनःस्थापित गराउन सबैको सहकार्य आवश्यक रहेको बताए।
प्रमुख अतिथिको रूपमा बोल्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले अटिजम सेवा केन्द्रसँग विराटनगर जेसीजले गरेको सहकार्यको प्रशंसा गरिन्। सेवा केन्द्र सञ्चालन भएको लामो समयसम्म अन्य संघ-संस्थाहरूले खासै चासो नदेखाएको अवस्थामा जेसीजले देखाएको सक्रियताले आफूलाई खुसी तुल्याएको उनले बताइन्। आगामी दिनमा केन्द्रको विकास र सेवा विस्तारमा सबै पक्षको सक्रिय भूमिका हुनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा वरिष्ठ मनोचिकित्सक एवं पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विज्ञको रूपमा धारणा राखेका थिए। त्यस्तै महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, विराटनगर जेसीजका पूर्व अध्यक्षद्वय श्याम सुन्दर पौडेल ‘मिलन’ र प्रितेश राज दाहाल लगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागी अटिजम भएका बालबालिकालाई उनीहरूकै फोटो अंकित कप र खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक बन्दना निरौलाले जानकारी दिइन्। विराटनगर जेसीजका जनसम्पर्क अधिकारी आकृति रानी फुयलले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएकी छन्।
