इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले कोशीका विकास आयोजना ठप्प
विराटनगर । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण कोशी प्रदेशका विकास आयोजनाहरूको काम ठप्प भएको छ। निर्माण लागत अस्वाभाविक रूपमा बढेपछि निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी काम अघि बढाउन नसकिने बताएको छ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निर्माण सामग्रीको मूल्यमा शतप्रतिशतसम्म वृद्धि भएको छ। व्यवसायीहरूले ‘मूल्य समायोजन मार्ग निर्देशिका-२’ तत्काल जारी गर्न र सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। इन्धन र सामग्रीको अनपेक्षित मूल्यवृद्धिले पूर्वाधार क्षेत्रमा ‘सुनामी’ ल्याएको र यसले निर्माण उद्योग नै धराशायी हुने अवस्था आएको महासङ्घका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले बताए।
मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य पटक-पटक बढिरहेकाले बैंक ग्यारेन्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्तिसहित म्याद थपका लागि सरकारले पहल गर्नुपर्ने व्यवसायीको भनाइ छ। बजारमा मूल्य बढे पनि नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कमा घटेको देखाइने प्रवृत्तिका कारण आफूहरू थप मारमा परेको उनीहरूको गुनासो छ।
महासङ्घका महासचिव रमेश कार्कीका अनुसार बिटुमिन (अलकत्रा) र इन्धनको अभावमा राष्ट्रिय गौरवका आयोजनासहित साना-ठूला सबै काम प्रभावित भएका छन्। काँकडभिट्टादेखि सीतापुरीसम्मको पूर्वी खण्डमा तीव्र गतिमा काम गरिरहेको इभ्रास्कन कालिका जेभीले समेत सामग्री अभाव र मूल्यवृद्धिकै कारण काम रोकेको छ। उक्त खण्डको २२ किलोमिटर सडकमा कालोपत्रेका लागि ‘बेस’ बिछ्याएर तयारी अवस्थामा राखिए पनि बिटुमिन र डिजेल अभावले काम अघि बढ्न सकेको छैन।
निर्माण व्यवसायी महासङ्घ मोरङका अध्यक्ष महेश मिश्रले १३३ रुपैयाँको डिजेल २०४ रुपैयाँ पुग्दा र गिटी-बिटुमिनको मूल्य आकासिँदा नयाँ पिच गर्न सक्ने स्थिति नरहेको बताए। सरकारले ठोस कदम नचाले निर्माण क्षेत्रमा आबद्ध लाखौँ श्रमिक र सम्बद्ध अन्य उद्योगहरू समेत आर्थिक रूपमा धराशायी हुने व्यवसायीले चेतावनी दिएका छन्।

Sarkar le ati awasyak bhanda aru kaam kehi samaya hold garaunu parchha petroleum padartha ko mulya antarastiya tawar ma kam bhayepachhi matra nepal ma nirman karya agadi badaunu parchha