इलामको रोङस्थित जंगलमा फेला परेको शव कसको ?

इलाम। इलामको रोङ गाउँपालिकामा एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ।

बिहीबार बेलुका करिब ५ बजे रोङ गाउँपालिका-५ इरौटारस्थित चुल्ठे सामुदायिक वनभित्र रहेको काली खोल्सामा शव फेला परेको हो। वस्तुभाउ चराउन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी चौकी इरौटारबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल चन्द्रगढी पठाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

अन्दाजी ५५-६० वर्षको देखिने ती पुरुषको शव सडिसकेको अवस्थामा छ। उनले कम्मरमुनि कालो कपडाको सिलाएको पेन्ट लगाएका छन् भने कम्मरमाथि नाङ्गो अवस्थामा छन्। उनको कपाल, दाह्री, जुङ्गा र छातीको रौं फुलेको छ।

प्रहरीका अनुसार शवको अनुहारको भाग सडेर हड्डी मात्र बाँकी रहेको छ भने शरीरका अन्य भागमा किरा परिसकेका छन्। शव फेला परेको स्थानभन्दा करिब २० मिटर माथि खोल्सामा अगाडिपट्टि जरायोको सिङको चित्र भएको कालो रङको ‘हाफ बाहुला’ को भेस्ट समेत फेला परेको छ।

उक्त हुलिया भएका व्यक्तिका आफन्तहरूलाई अविलम्ब प्रादेशिक अस्पताल चन्द्रगढी झापामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *