सरकारले लहडका भरमा निर्णय गरिरहेको आरोप
विराटनगर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले पछिल्लो समय कानुन र विधिको बर्खिलाप गर्दै ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराउँदै नागरिकका माग बेवास्ता गरिए सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन्।
सभापति थापाले संविधान कार्यान्वयन, विधिको शासन र प्रजातन्त्रका आधारभूत मान्यतामा सरकार चुकेको खण्डमा कांग्रेस दृढ रूपमा उभिने स्पष्ट पारे।
उनले पार्टीको केन्द्रीय कार्यसमितिमार्फत सरकारका केही कदमप्रति गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिँदै भदौ २४ गतेको घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि तत्काल आयोग गठन गर्न माग गरे। ‘सरकारले हाम्रा माग सुन्छ भन्ने विश्वास छ, नसुने कसरी सुनाउने भन्ने हामीलाई थाहा छ,’ उनले भने।
राज्यलाई प्रत्येक नागरिकमाथि अनुसन्धान गर्ने अधिकार भए पनि त्यसका नाममा कानुन उल्लंघन गर्न नहुनेमा उनको जोड थियो। राज्यका निकायहरू छाडा भए प्रजातन्त्र कमजोर हुने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
संघीय संसदमा प्रतिपक्षमा रहे पनि प्रदेशहरूमा सरकारमा रहेको स्मरण गराउँदै उनले सरकारका सकारात्मक काममा साथ दिने तर जनहितका विषयमा तथ्यका आधारमा प्रश्न उठाउने नीति लिएको बताए।
आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै सबै नेतासँग संवाद र छलफल भइरहेको समेत उनले जानकारी दिए।
