परदेशको मनोविज्ञान र अदृश्य पीडा

परदेश, दबाब र मौन निर्णयको मनोविज्ञानसँगै समृद्ध संसारका अदृश्य पीडाहरू पनि उस्तै छन्।

यही अप्रिल ६-७ तारिखमा जापानको टोकियोस्थित अराकावा क्षेत्रमा एक २३ वर्षीया नेपाली विद्यार्थीले मृत शिशु जन्माएर प्लास्टिकको झोलामा राखी दराजमा लुकाएको घटना सार्वजनिक भयो। बाहिरबाट सुन्दा यो अत्यन्त अस्वाभाविक र कठोर लाग्ने घटना त थियो नै, प्रवासमा बस्ने नेपालीबिच यसले छुट्टै खालको दुःखको अनुभूति गराएको छ।

अर्को घटना त्यसको केही दिन नबित्दै अप्रिलको दोस्रो हप्तामा जापानकै क्योटो प्रान्तमा बाहिर आयो। ११ वर्षीय जापानी बालकको हत्यामा आफ्नै बुबाको संलग्नता देखियो। पछि स्पष्ट भयो कि उनी बालकका जैविक पिता नभई आमाको दोस्रो विवाहपछि आएका सौतेलो बुबा थिए। यो केवल अपराधको कथा मात्र होइन, मानव सम्बन्धको विघटनको चरम रूप हो। बालक हराएको केही हप्तापछि जङ्गलमा शव फेला पर्नु र सौतेलो बुबाले नै अपराध स्वीकार गर्नुले मन स्तब्ध र सतर्क बनाउँछ।

फरक पृष्ठभूमिका यी दुई घटनाले एउटै गहिरो प्रश्न उठाउँछन्- के मानवता नै डिप्रेसनको सिकार बन्दै गएको हो?

पहिलो नजरमा यी घटना फरक देखिन्छन्। एउटामा मृत शिशुलाई लुकाउने प्रयास छ भने अर्कोमा बालकको हत्या। तर मनोवैज्ञानिक दृष्टिले गहिराइमा जाँदा दुवैको जरा उस्तै देखिन्छ- असहायता, डर, सामाजिक दबाब, एक्लोपन र मानसिक सङ्घर्षको उपज।

विदेशमा अध्ययनरत विद्यार्थीको जीवन बाहिरबाट जति सहज र आकर्षक देखिए पनि भित्र अनेक चुनौतीहरू हुन्छन्। आर्थिक अभाव, काम र पढाइको सन्तुलन, कानुनी जटिलता, भाषाको समस्या र सामाजिक एक्लोपनले मानिसलाई मानसिक रूपमा कमजोर बनाउँछन्। त्यसमाथि अनपेक्षित गर्भजस्तो संवेदनशील अवस्था आयो भने त्यो केवल व्यक्तिगत समस्या मात्र रहँदैन; सामाजिक, आर्थिक र मनोवैज्ञानिक दबाबको मिश्रण बन्छ।

यस्तो अवस्थामा निर्णय गर्ने क्षमतामा नै असर पर्छ। सही-गलत छुट्याउनु भन्दा “अब के गर्ने?” भन्ने त्रासले मानिसलाई घेर्छ। समाजको डर, परिवारको इज्जत र भविष्यको अनिश्चितताले मानवीय संवेदना आफैँ दबिन पुग्छ।

त्यसैले यी घटनालाई केवल “मानवता के भएको हो?” भनेर प्रश्न गर्नुभन्दा, “हामीले कस्तो समाज बनाइरहेका छौँ?” भन्ने सामूहिक खोज आवश्यक छ। के हाम्रो समाज यति कठोर छ कि एउटा युवतीले आफ्नो पीडा कसैसँग बाँड्न नसकोस्? के सहयोग माग्ने वातावरण यति कमजोर छ कि मानिस अन्तिम अवस्थामा पनि एक्लै निर्णय लिन बाध्य होस्?

यी प्रश्नहरू भावनात्मक मात्र होइनन्, गहिरो सामाजिक आत्ममूल्याङ्कनका सङ्केत हुन्। यदि कुनै व्यक्तिले आफ्नो पीडा खुलेर भन्न सक्दैन भने त्यो केवल उसको कमजोरी होइन, हाम्रो सामाजिक संरचनाको कमजोरी हो। अझै पनि मानसिक पीडा, असफलता वा व्यक्तिगत सङ्कटलाई खुलेर स्वीकार्ने संस्कृति हामीकहाँ विकास भइसकेको छैन। “अरूले के भन्लान्?” भन्ने डरले धेरैलाई मौन बनाएको छ।

सहयोग भनेको केवल सेवा वा संस्था होइन, विश्वासको वातावरण हो- जहाँ मानिसले आफूलाई न्याय गरिने डरबिना कुरा राख्न सकोस्। यस्तो परिस्थितिलाई बदल्न परिवार र साथीहरूको तहबाटै सुन्ने संस्कृतिको विकास हुनुपर्छ। सल्लाह दिनुभन्दा अघि ध्यानपूर्वक सुन्ने बानी बसाल्नुपर्छ। मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यजत्तिकै प्राथमिकता दिने सामाजिक स्वीकृति आवश्यक छ।

हाम्रो समाज अचानक कठोर बनेको हुँदैन। साना बेवास्ता, मौनता, पुराना मान्यता र असंवेदनशीलताले यसलाई त्यस्तो बनाउँछन्। समाज त्यतिबेला मात्र मानवीय बन्छ, जब कमजोर अवस्थामा रहेको व्यक्तिले पनि आफूलाई सुरक्षित महसुस गर्न सक्छ र आफ्नो पीडा आफन्त वा साथीभाइसँग बाँड्न सक्छ।

प्रवासी नेपाली श्रमका क्रममा दुर्घटनामा परेर बाकसमा फर्कने कथा त छँदै थिए, तर पछिल्ला वर्षहरूमा विद्यार्थीहरूमा बढ्दो आत्महत्या र यस्ता दुखद घटनाहरू भोलिका लागि गम्भीर सङ्केत हुन्। परिवारको उच्च अपेक्षा र खुलेर समस्या व्यक्त गर्न नसक्ने अवस्थाले समस्या झन् जटिल बनाएको छ।

म आफैँ पनि परदेशमा लामो समय बिताउँदा कहिलेकाहीँ अन्योलमा पर्दा ठूलो दुर्घटनाको नजिक पुगेको अनुभव छ। त्यो घटनाले जीवनप्रतिको मेरो बुझाइ र चेतना बढायो। त्यसैले सामाजिक जागरण र पूर्वचेतना फैलाउने प्रयास स्वरूप म लेख, गीत र कवितामार्फत आफ्ना कुरा राख्दै आएको छु।

सम्पन्न समाजमा भौतिक सुविधा भए पनि सम्बन्धहरू कमजोर बन्दै जाँदा मानिस एक्लोपन र मानसिक तनावको सिकार बन्न सक्छ। अर्कोतर्फ, विकासोन्मुख समाजमा समुदायको उपस्थिति बलियो भए पनि “अरूले के भन्लान्?” भन्ने दबाब र व्यक्तिगत स्वतन्त्रताको अभावले मानसिक बोझ बढाउँछ। कतै सम्बन्धको अभावले पीडा छ, कतै सम्बन्धकै बोझले।

अन्ततः, आदर्श समाज त्यही हो- जहाँ मानिस एक्लो महसुस नगरोस् र दबाबमा पनि बाँच्न नपरोस्। जहाँ उसले आफ्नो पीडा लुकाउनु नपरोस् र निर्णय लिनका लागि डराउनु पनि नपरोस्। सामाजिक चेतना घर-घरमा पुर्‍याउनु नै यस्ता समस्याको दीर्घकालीन समाधान हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *