छोराछोरीलाई यूके पढ्न पठाउँदै हुनुहुन्छ?

के तपाईं पनि छोराछोरीलाई यूके पढ्न पठाउँदै हुनुहुन्छ?

भिसा नै लागिसकेको भए त बधाई छ, तर प्रोसेसमै हुनुहुन्छ भने तेस्रो पटक अनुरोध गर्दै छु । कृपया एकपल्ट फेरि पढ्नुहोला ।

तपाईंका सन्तानले ‘चेभनिङ स्कलरशिप’ या यस्तै कुनै स्थापित छात्रवृत्ति पाएर बेलायत आउन लागेका हुन् भने आफ्नो छाती फराकिलो पारेर बधाई दिनुहोस् । आवश्यक पर्यो भने म आफैँ स्वयंसेवी बनेर एयरपोर्ट आउन र सम्बन्धित विश्वविद्यालयसम्म पुर्‍याउन मद्दत गर्न सक्छु ।

कुनै खास विषयमा अध्ययन र अनुसन्धान सकेर विशिष्ट ज्ञान र सर्टिफिकेटका लागि या पीएचडीका लागि आउँदै हुन् भने तपाईं खुसीसाथ एयरपोर्ट पुगेर आफैँ बिदाइ गर्नुहोस् । अन्तर्राष्ट्रिय डिग्री, अनुभव र एक्सपोजरले तिनको करियर र व्यक्तित्व माथि उठाउन मद्दत गर्छ । बेलायतका शैक्षिक संस्था र डिग्री विश्वकै अब्बल मानिन्छन् ।

अक्सफोर्ड, क्याम्ब्रिज, इम्पेरियल कलेज, एलएसई, यूसीएलजस्ता प्रख्यात संस्था या ‘रसेल ग्रुप’ का युनिभर्सिटीहरूमा राम्रो विषय पढ्ने अवसर मिलेको छ भने जेजस्तो हाल र अवस्था भए पनि सकेको मिहिनेत गरेर पढ्न पठाउनुहोस् । शिक्षाभन्दा ठूलो लगानी अर्को छैन ।

तर, “सँगै पढेको साथी उतै गयो”, “यहाँ केही पनि छैन”, “अवसर नै छैन”, “उता काम गर्दै पढ्दै गर्न सकिन्छ”, “उताको डिग्री काम लाग्छ” जस्ता तर्कको बुई चढेर आफ्ना सन्तानलाई कन्सल्टेन्सीको ढोका-ढोका पुर्‍याउँदै हुनुहुन्छ भने तपाईं असल अभिभावक बन्नबाट चुक्नुभएको पनि हुन सक्छ ।
अझ साथीभाइसँग सरसापट गरेर, ब्याज काढेर, सञ्चयकोष रित्याएर छोराछोरीलाई च्याउजस्ता कन्सल्टेन्सीको जिम्मा लगाउँदै हुनुहुन्छ भने यसले भोलि ठूलो पछुतो निम्त्याउन पनि सक्छ । यदि पढाइभन्दा पर एक इन्च पनि अरू केही अपेक्षा छ भने त निराशा नै निराशा हात पर्न सक्छ ।

बेलायतले पढ्ने भिसा त सजिलै दिन्छ तर यहाँ पढ्न सजिलो छैन । मेडिसिनदेखि इन्जिनियरिङसम्मका मूल विषयमा तपाईंका छोराछोरीले पढ्न पाउने सम्भावना न्यून छ । यहीँका विद्यार्थीले ती कोर्स पढ्न पाइरहेका छैनन् । पढेर जागिर या विश्वभर बिक्ने सर्टिफिकेट हुने खालको कोर्स होइन त्यो ।

मूलधारको कोर्स तपाईंले चाहेको महिनामा सुरु गर्न पाइने भन्ने हुँदैन । त्यस्ता कोर्सहरूमा वर्षको एकपल्ट मात्रै भर्ना खुल्छ । तर काठमाडौँको कन्सल्टेन्सीले तपाईंलाई जहिले चाह्यो तहिलेको कोर्स दिन सक्छन् । के नेपालको त्रिभुवन विश्वविद्यालयमा हरेक महिना भर्ना हुन पाइन्छ? पैसा तिर्नेबित्तिकै पब्लिक हेल्थदेखि इन्जिनियरिङसम्म जे चाह्यो त्यही पढ्न पाइन्छ? पाइन्न भने बेलायतजस्तो ठाउँमा कसरी पाइन्छ त?

तपाईंले लाखौँ खर्च गरेर पढ्न पठाउने अधिकांश कोर्स तपाईंजस्तै बुबाआमाको गोजी ताकेर बनाइएका शुद्ध व्यापारिक कोर्स हुन् । जसमा यहाँका स्थानीय विद्यार्थी कोही पनि हुँदैनन् । यहाँको रोजगार बजारले त्यो सर्टिफिकेट पनि चिन्दैन । भन्दा नमीठो लाग्ला, ‘पोलिटिकल्ली इनकरेक्ट’ पनि होला तर नाम चलेकै विश्वविद्यालयले समेत त्यस्तो आकासे कोर्स बेचिरहेका छन् । तिनलाई यतिबेला पैसाको सङ्कट छ ।

कोभिडपछिको अत्यधिक मूल्यवृद्धिका कारण यहाँको बजार मन्दीकै अवस्थामा छ । विद्यार्थीलाई हप्तामा २० घण्टा कामको हदबन्दी भएकाले त्यससँग मिल्दोजुल्दो काम पाउन कत्ति पनि सजिलो छैन । कमाइ नहुने हो भने खान-बस्न अत्यधिक महँगो छ । धेरै कलिला युवाहरूमा कुलत र मानसिक स्वास्थ्यको समस्या आम बन्दै गरेको देखिन्छ । कमाएर कलेजको फि तिर्ने भन्ने पनि सपनाजस्तै हो । कुनै सपना पूरा भएको भन्ने नजिरले सधैँ काम लाग्दैन ।

त्यसमाथि बेलायतले आप्रवासनलाई एकदम कडा र असम्भवजस्तो बनाउँदै लगेको छ । पढेर वर्कपरमिट पाउन कम्तिमा ३३ हजार पाउण्डभन्दा माथिको तलब चाहिन्छ । यहीँको नागरिकता लिएका र दशकदेखि यहीँ काम गर्ने धेरैको तलब त्यति हुँदैन । एकदम ठूलो सिप र ज्ञान भएन भने वर्कपरमिट असम्भवजस्तै बनेको छ ।

हुँदै हुन्न भन्न नमिले पनि नेपालमा हामी सबै सांसद बन्न पाइन्छ भनेजस्तै हो त्यो । कुनै उपाय निस्किएला नि भनेर कसैले भनेको छ भने त्यो तपाईंको शुभेच्छुक नहुन सक्छ । त्यसमाथि अबको चुनाव एकदम दक्षिणपन्थी दलले जित्ने अनुमान छ, जसले पाएको वर्कपरमिट पनि खोस्नेजस्तो नीति तय गरेको छ । आजको बेलायतमा तपाईंले सोचेजस्तो केही पनि छैन । साँच्चै छैन ।

पढाइ सकेपछि १८ महिनाको ‘काम गर्ने अवधि’ पाइन्छ । तर त्यो एप्लाई गर्न पनि ३ हजार पाउण्डभन्दा माथि लाग्छ । ५-६ महिनाको सेभिङ त त्यसैमा गयो । काम गर्ने भिसा मात्रै पाइने हो, काम होइन । काम खोज्दा दुई-तीन महिना अर्को जान्छ । सात-आठ महिनामा खाने-बस्ने कटाएर, फर्किने टिकट कटाएर र पढ्दा लागेको ऋण घटाएर के नै बच्ला र!

फर्केको दिन न झोलामा गतिलो डिग्री हुन्छ, न गोजीमा पैसा र न अनुहारमा यौवन । फेरि जिरोबाट जिन्दगी सुरु गर्नु, त्यो पनि नेपालमा, कत्ति सजिलो हुँदैन । करियर बनाउने, सङ्घर्ष गर्ने या आधार बनाउने उत्तम उमेर २५ देखि ३० वर्षको हो । त्यही उमेर बाहिरै बित्यो भने आफू इकोसिस्टम बाहिर परिन्छ । सँगैका अरूभन्दा पछि परिन्छ । यता केही वर्ष बस्दा सिस्टमको बानी पर्छ । देशमा सिस्टम बस्नै बाँकी छ । भोलि यता न उताको भइने डर पनि हुन्छ ।

यो युग वैश्विक युग हो, एआईको युग हो । विश्वस्तरीय र कामलाग्दो ज्ञान, सिप र सर्टिफिकेट सबै घरमै बसेर हासिल गर्न सकिन्छ । त्यहाँ बरु समय हुन्छ, चासो र खोज हुन्छ । बेलायत पढ्न आएपछि कामको धाप र पढाइको चापले च्यापेर केही सोच्नै भ्याइन्न । थप स्किल सिक्ने र बिक्ने बन्न यहाँ फुर्सद नै हुँदैन ।

आजको युगमा सर्टिफिकेटभन्दा पनि ज्ञान बिक्छ । तपाईंले नेपालमा पढेको कुरा संसारको जुन कुनामा पनि काम लाग्छ । डिग्री नै पनि सम्मानित नै हुन्छ । शुल्कका दृष्टिले नेपालको शिक्षा विश्वकै सस्तो मध्येमा पर्छ । विद्यालय शिक्षा त नेपाल र भारतको जस्तो सायदै अन्यत्र होला ।

फिजिक्समा मास्टर सकेको दिन तपाईंलाई कोरियादेखि ताइवान र अमेरिकादेखि युरोपले खाने-बस्ने पैसा दिएर लैजान्छन् । त्यहाँ पढ्ने विद्यार्थी नै नभएर त्यस्तो भएको हो । तपाईंका छोराछोरी योग्य भए भने सोझै काम गर्न बाहिर जान सक्छन् । पैसा तिर्न होइन, कमाउन ।

देशमा अवसर नै अवसर छ म भन्न सक्दिनँ । पढेर योग्य बनेपछि काम पाइन्छ भन्न पनि सक्दिनँ । नातावाद, कृपावाद, सोर्स, घुस र भनसुनभित्र परिएन भने उपचार त सजिलो छैन, करियर हुन्छ भन्न गाह्रो छ । केही पनि नहुन सक्छ । तर के भन्न सक्छु भने बेलायत आएर पनि केही हुँदैन । फेरि फर्केर पनि त्यो सङ्घर्ष गर्नैपर्छ भने तीन-चार वर्ष किन खेर फाल्ने? केही नहुँदा पनि त्यहाँ आमाबुबाको काख छ, माटोको सुवास छ, बोलेको बुझ्ने मान्छेहरू छन् । हस्पिटल जाँदा सँगै जाने तीन-चार जोर खुट्टाहरू छन् । यहाँ त त्यो पनि छैन ।

अँ, जति मिहिनेत र धपडी आईईएलटीएसदेखि कन्सल्टेन्सी धाउँदा भएको छ, त्यति मिहिनेत रोजगारी या व्यवसायको क्षेत्रमा लगाउने हो भने केही हुन्छ कि? चर्को फि तिर्न पैसा त जुटाउनुभएकै छ ।

र अन्तिममा, यो तस्बिर क्यामेराले खिचेको तस्बिर होइन । कसैको व्यवसाय बदनाम गर्ने मेरो सोच होइन । तर देशको राजधानीका सडक यस्तै छन् । लाजैमर्दो गरी विदेशी कलेज र संस्थाका यतिविधि ब्यानर र तूलले फोहोर बनाएका यस्ता सहर कमै होलान् । विदेश पठाउन पाइन्छ, कन्सल्टेन्सी चलाउन पाइन्छ तर देश नै पलायनवादी देखिने स्तरको होर्डिङ बोर्डवाला विज्ञापन त रोक्न पनि सकिन्थ्यो होला । यस्तो देख्दा पर्यटकलाई पनि अचम्म लाग्दो हो । देशको छवि पनि बिगार्छ यस्तो दृश्यले । खैर, यो मेरो जानकारीको क्षेत्र होइन । कानुनसम्मत भएरै विज्ञापन गरिएको होला ।

यति पढेर पनि छोराछोरी पठाउँदै हुनुहुन्छ भने मेरो शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *