सरकारी कर्मचारीले महिनामा दुई पटक तलब पाउने
काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको तलबभत्ता अबदेखि अर्धमासिक रूपमा प्रदान गर्ने भएको छ।
गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै नयाँ व्यवस्थाबारे औपचारिक जानकारी गराएको हो। यसअघि कर्मचारीहरूले महिना भुक्तान भएपछि मात्र मासिक रूपमा तलबभत्ता पाउने व्यवस्था रहेकोमा अब महिनाको दुई पटक भुक्तानी गरिनेछ।
कर्मचारीहरूको आर्थिक सहजता र दैनिक आवश्यकतालाई मध्यनजर गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो। अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालले अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरु गर्न अर्थमन्त्री स्तरीय निर्णय भइसकेको र सोही अनुसार नयाँ व्यवस्था लागू गरिएको बताए।
यो निर्णयसँगै अब सरकारी सेवामा रहेका कर्मचारीहरूले प्रत्येक १५ दिनमा आफ्नो पारिश्रमिक प्राप्त गर्ने बाटो खुलेको छ।
प्रतिक्रिया
