सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा र सहसचिव पोखरेलविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं नेकपा नेता कृष्णबहादुर महरा र सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा महरा, उनका छोरा राहुल र सहसचिव पोखरेलसहितका व्यक्तिहरूले चिनियाँ तस्करसँग मिलेर सुनको अवैध ओसारपसारमा सहयोग गरेको उल्लेख छ। अख्तियारले उनीहरूमाथि करिब ७ करोड रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको छ।
२०७९ पुस १० गते दुबईबाट आएका चिनियाँ नागरिक ली हसङले ७३ वटा बट्टामा ७३० वटा भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएका थिए। विमानस्थल भन्सारले उक्त सामान शंकास्पद मानेर नियन्त्रणमा लिएपछि गिरोहका नाइके दावाजिन वाङले सामान छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत दबाब बढाएका थिए।
अनुसन्धानका क्रममा महरा बाबुछोराले भन्सार कर्मचारी र तस्करहरूसँग २ सय ५६ पटक टेलिफोन सम्पर्क गरेको तथ्य खुलेको थियो। भन्सारको गोदाममा सिल गरेर राखिएको उक्त भेप पछि कर्मचारी र बिचौलियाको सेटिङमा चोरी भएको थियो।
सुन भएको सक्कली भेप निकालेर त्यहाँ अरू नै नक्कली भेप राखिएको थियो। गोदाम सुरक्षामा खटिएका गार्डले भेप घर लगेर फुटाउँदा भित्र सुन फेला परेपछि मात्रै यो रहस्य बाहिर आएको थियो।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो। २०८० चैत ५ गते पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाउँदै चैत ९ गते हाजिर जमानीमा रिहा गरिएको थियो। त्यसअघि उनी २० लाख धरौटीमा समेत छुटेका थिए।
अहिले अख्तियारले सोही प्रकरणमा सार्वजनिक ओहोदाको दुरुपयोग गरी तस्करीमा संलग्न भएको भन्दै भ्रष्टाचारको छुट्टै मुद्दा दायर गरेको हो। यो मुद्दामा भन्सारका तत्कालीन कर्मचारीहरू र भारतीय सुन व्यापारीहरूको समेत संलग्नता पुष्टि भएको छ।
