रिहा भएपछि ओली: ‘सरकारले प्रतिशोध साँध्यो, सत्यको जित भयो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा नियन्त्रणमा राखेको बताएका छन्। १३ दिनको हिरासत बसाइपछि बिहीबार हाजिर जमानीमा रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
ओलीले मुद्दा चलाउने कुनै आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गर्दै यसलाई न्यायको जितका रूपमा अर्थ्याएका छन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी जनता, कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, राजनीतिक दल र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरे। साथै, हिरासतमुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले हिरासतमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारलाई समेत धन्यवाद दिएका छन्। आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरी दमनबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरे। “यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु,” ओलीले लेखेका छन्।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफू अझै केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि उनले जानकारी दिएका छन्। यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूमा उनले हार्दिक आभार व्यक्त गरेका छन्। गत भदौ २३ र २४ गतेको घटनामा अनुसन्धानका लागि ओलीलाई चैत १४ गते पक्राउ गरिएको थियो।
