भ्रामक प्रचारको पछि नलाग्नू : देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भइरहेका प्रचारबाजीलाई ‘भ्रामक र झुटा’ बताएका छन्।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको चर्चाका बीच देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

बुधबार साँझ फेसबुकमा एक सन्देश लेख्दै देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका छन्।

“म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन्।

आफ्नो जीवन एउटा खुला पुस्तक जस्तै रहेको चर्चा गर्दै देउवाले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र पारदर्शिताका लागि आफूले सिंगो जीवन संघर्षमा बिताएको दाबी गरेका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफू गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गर्न अग्रसरता लिएको उनले स्मरण गराए।

हाल स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने बताएका छन्। उनले अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैलाई अपिल समेत गरेका छन्।

सरकारले देउवा दम्पतीको सम्पत्तिमाथि छानबिन प्रक्रिया सुरु गरेपछि उनको यो प्रतिक्रिया आएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *